भक्तपुर । मध्यपुर थिमि नगरपालिका–९ मा रहेको ऐतिहासिक, धार्मिक र आन्तरिक पर्यटकीय स्थल नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका लागि स्थानीय युवाको अगुवाइमा विगत दस हप्तादेखि जारी जनश्रमदान अभियानले व्यापक रुपमा जनसहभागिता बटुलिरहेको छ । तर यही अभियान मध्यपुर थिमि नगरपालिकाका लागि भने “टाउको दुखाइ“को बन्न थालेको छ ।
श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यका अनुसार, “हामी जुन टोलमा जनचेतना फैलाउन जान्छौं, त्यसको भोलिपल्ट नगरपालिकाका प्रतिनिधि पुगेर हाम्रो अभियानलाई कमजोर पार्ने प्रयास गर्छन्। ‘नगरपालिकाले करोडौं बजेट ल्याइसकेको छ, सहयोग गर्न जरुरी छैन’ भन्ने अफवाह फैलाइन्छ ।”
वैद्यको आरोप अनुसार, यस अभियानलाई असफल पार्न जिल्ला कांग्रेस पार्टी पनि प्रत्यक्ष रूपमा लागिपरेको छ। “तर अहिले पनि एमाले र नेमकिपाले समर्थन जनाइसकेका छन्,” उनले थपे।
नगरपालिका बेखबर, जनता सक्रिय
दशौं हप्तादेखि शनिबार, सोमबार र बुधबार हप्ताको ३ दिन गरिने श्रमदान अभियानमा अहिले एकै दिन तीन–चार हजार मानिसको सहभागी हुने गरेका छन् । सुरुमा सयजनाको हाराहारीमा थालिएको अभियान अहिले हजारौंको संख्यामा पुगि सकेको छ ।
श्रद्धालु धार्मिक व्यक्तित्व, स्थानीय बासिन्दा र स्वयंसेवकले माटो सम्याउने, पानी निकास सुधार गर्ने, तटबन्ध बनाउने, पहिरो रोक्न घाँस तथा रुख रोप्ने र माटो बोक्ने कार्यमा खटिरहेका देखिन्छन् ।
अभियानमा सहभागी एक शिक्षक सत्यराम कासिछ्वाका अनुसार “हामी भक्तपुरदेखि सयौंको समूहमा श्रमदान गर्न आएका छौं । योजनामा लेखिएको बजेट कागजमा सीमित हुँदा, मन्दिर क्षेत्र असारको भेलसँगै बग्ने हो कि भन्ने डरले हामी सडकमा छौं ।”
’करोडौं बजेट’ कता?
श्रमदानमा साथ दिने आग्रह गर्दै समिति अहिले ‘जनताको पैसाले जनताकै धरोहर बचाऔं’ नारासहित रकम संकलन कार्यमा पनि निरन्तर जुटिरहेको छ । हालसम्म एक करोड भन्दा रकम बढी सहयोग संकलन भइसकेको जनाएको छ । स्थानीयले आफैं खाजा बोकेर आउन थालेका छन्, पछिल्लो समय समितिले खाजाको व्यवस्थापन पनि थालेको छ ।
साथै समितिका अनुसार सोही क्षेत्रका अर्थात् वडा नं ९ का वडा अध्यक्षदेखि अन्य सरोकारवाला नगर अधिकारीसम्म कसैले सहयोग नगरेको गुनासो छ । वैद्यको आरोप अनुसार, यस अभियानलाई असफल पार्न जिल्ला कांग्रेस पार्टी पनि प्रत्यक्ष रूपमा लागिपरेको छ । “तर अहिले पनि एमाले र नेमकिपाले समर्थन जनाइसकेका छन्,” उनले थपे ।
धार्मिक, सांस्कृतिक र पर्यावरणीय संकट
पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको नीलबाराही मन्दिर थुम्कोमा अवस्थित छ, जुन वर्षा र पहिरोको उच्च जोखिममा छ । पहिले प्लास्टिकले छोपेर बचाउने प्रयास गरिएको मन्दिर अहिले स्थानीयको श्रम र आस्थाले जोगिने बाटोमा छ ।
नीलबाराही मन्दिर काठमाडौं उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक हो । यो केवल धार्मिक स्थल मात्र नभएर नेवा समुदायको सांस्कृतिक पहिचान पनि हो । साथै यो क्षेत्र आन्तरिक पर्यटकहरुको लागि वनभोज लगायत पिकनिक र रमाइलो गर्न र घुम्न आउने स्थल पनि हो । यो नगरपालिका भित्रका नगरबासीहरुको लागि आर्थिक उपार्जनको स्रोतसमेत रहेकोस्थल वर्षौ देखि नगरपालिकाको बेवास्तामा परेको छ ।
नगरपालिकाको भनाइ र स्थानियको निराशा
नगरपालिकाले अघिल्ला वर्षहरूमा करोडौं रुपैयाँ विनियोजन गरेको दाबी गर्दै आए पनि स्थलगत प्रगति देखिएको छैन । योजनाहरू कागजमै सीमित हुँदा स्थानीय बासिन्दाले आफैं ‘नीलबाराही बचाउ अभियान’ थाल्नुपरेको बताउँछन् ।
जब राज्य संयन्त्र सुस्त हुन्छ, जनताको चेतना जाग्छ । नीलबाराही क्षेत्र संरक्षणका लागि उठेको जनश्रमदान अभियान त्यसैको उदाहरण बनेको छ । तर यस्तो प्रेरणादायी प्रयासलाई स्थानीय सरकारको असहयोगले निरुत्साहित बनाउने प्रयास चिन्ताजनक छ । यसो नभए सम्भवतः नीलबाराही जोगाउन ‘करोडौंको योजना’भन्दा जनताको आँट र श्रमले नै काम गर्नेछ ।