काठमाडौं । उज्बेकिस्तानको राजधानी ताशकेंटमा जुलाई २३ देखि २७ सम्म सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनशिप–२०२५ मा नेपालका बसिल तोयनाले रजत पदक जितेर ऐतिहासिक सफलता हात पारेका छन्। दुई वर्षअघि मात्रै नेपाल भित्रिएको सभात खेलमा नेपालले पहिलोपटक विश्वस्तरीय च्याम्पियनशिपमा उपाधि भिडन्तसम्मको यात्रा तय गरेको हो।
८०–८५ केजी तौल समूह अन्तर्गतको प्रतिस्पर्धामा सहभागी भएका तोयनाले समूह चरणमा आयोजक उज्बेकिस्तान, अजरबैजान र फ्रान्सका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेका थिए। पहिलो खेलमा आयोजक टिमका मोहम्मद जिदिरोभलाई पराजित गर्दै ३ अंक जोडेका उनले दोस्रो खेलमा अजरबैजानका मेहमेद सुलेमनोभमाथि शानदार जित निकाल्दै थप ३ अंक बटुले। फ्रान्सका मलभिन पेरीईले वाकओभर दिएपछि बसिलले कुल ९ अंकसहित फाइनल यात्रा तय गरे।
तेस्रो दिन भएको फाइनल खेलमा बसिलले फ्रान्सका पेरीईसँग प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेपनि फ्रान्सका विश्व वरीयताका खेलाडीसामु पराजित भएपछि उनी रजत पदकमै सन्तोष मान्न बाध्य भए।
नेपालका लागि यो उपलब्धि निकै महत्वपूर्ण मानिएको छ। सभात खेलको जन्मदाता राष्ट्र फ्रान्स, र सभातको ‘पावर हाउस’ मानिने उज्बेकिस्तान तथा अजरबैजान जस्ता राष्ट्रका खेलाडीहरूलाई हराउँदै उपाधि भिडन्तसम्मको यात्रा तय गर्नु नेपाली खेलकुदको लागि ऐतिहासिक क्षण भएको नेपाल सभात संघका संस्थापक अध्यक्ष, राष्ट्रिय टिमका प्रशिक्षक तथा एशियन सभात कन्फेडेरेशनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए।
“नेपालका खेलाडी फाइनलसम्म पुगेर फ्रान्स जस्तो शीर्ष राष्ट्रसँग प्रतिस्पर्धा गर्न सफल भएका छन्। हाम्रो प्रदर्शनबाट धेरै मुलुकका प्रशिक्षक र खेलाडीहरू प्रभावित भएका छन्,” उनले भने, “सरकारको तीनै तहबाट आवश्यक लगानी र सहयोग भएमा सभात खेलमा नेपाल पनि पावर हाउस बन्न सक्छ र विश्वमा नेपालको शिर उच्च राख्न सक्छ।”
नेपालमा सम्भावना बोकेको सभात खेलको विकासका लागि राज्य तहबाट संरचनागत लगानीको खाँचो रहेको बस्नेतको जोड छ। उनले नेपालको यस सफलतालाई आधार बनाएर भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा सभातमा थप सफलता हासिल गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
Ask ChatGPT