१२ वर्षपछि पुनः सञ्चालनमा आउँदै नगदेश भैल प्याखं

0



भक्तपुर । १२ वर्षको लामो अन्तरालपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक सांस्कृतिक सम्पदा नगदेश भैल प्याखं पुनः सञ्चालनमा आउने भएको छ । सापारु पर्वको भोलिपल्टदेखि नगरका विभिन्न टोलमा चार दिनसम्म निरन्तर प्रदर्शन गरिने यो तान्त्रिक नाचको तयारीका लागि प्रशिक्षण कार्यक्रम सुरु भइसकेको छ ।

मध्यपुर थिमिमा बालकुमारी क्षेत्र, चपाचो र नगदेशमा छुट्टाछुट्टै रूपमा भैरव नाच (भैल प्याखं) प्रदर्शन गरिँदै आएको छ । यद्यपि, विगत केही वर्षदेखि थिमिको लायकू भैल र चपाचो क्षेत्रको प्रजापति समुदायबाट निस्कने भैल नाच भने आलोपालो गरि नियमित रूपमा सञ्चालन भइरहेका छन् । तर, दुई समूहबीचको विवादका कारण नगदेशको भैल प्याखं १२ वर्षदेखि स्थगित भएको थियो ।

यस वर्षदेखि श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैल पुच नामक नयाँ समुह गठन गरी परम्परागत नाच पुनः प्रदर्शनमा ल्याउन लागिएको भैल प्याखं गुरू कृष्णभक्त घजुले जानकारी दिए ।

भैल प्याखं तान्त्रिक विधिअनुसार गरिने विशेष सांस्कृतिक र धार्मिक महत्वको नृत्य हो । यस नाचमा सहभागी कलाकारहरूलाई परम्परागत तान्त्रिक विधिअनुसार प्रशिक्षण दिइन्छ । यस नाचमा ५ जना कलाकारका साथमा नाचका लागि आवश्यक बाजा बजाउने टोलीका साथमा ज्वंकालुको रुपमा केही स्वयंसेवकहरुको संयोजनमा यो नाच संचालन हुने गर्दछ । यसै सन्दर्भमा, साउन ८ गते रातिबाट कलाकारहरूको प्रशिक्षण सुरु भइसकेको छ।

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार, नगरको सांस्कृतिक सम्पदा जगेर्ना गर्न नगरपालिकाले प्रत्येक भैल प्याखंका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको जानकारी दिए ।

यस वर्ष थिमिमा एकैसाथ दुई स्थानमा भैरव नाचको तयारी सुरु भएको छ । मध्यपुर थिमिको बालकुमारी क्षेत्रमा लायकु भैलः र नगदेश भैल संचालनमा आउने भएपछि स्थानीयवासी तथा संस्कृतिप्रेमीहरूलाई उत्साहित बनाएको छ । विशेषगरी नगदेश भैल प्याखंको पुनरागमनले हराउँदै गइरहेको परम्परागत संस्कृति पुनः जीवित हुनेमा स्थानीयको ठूलो आशा रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top