भक्तपुर । नेपालमा चरा प्रजातिको सूचीमा एक नयाँ नाम थपिएको छ। भक्तपुरको मध्यपुर थिमिस्थित मनोहरा फाँटमा ‘साइबेरियाली स्यान्ड प्लोभर’ (Siberian Sand Plover) नामक चरा पहिलो पटक अभिलेख गरिएको छ। समुद्री सतहबाट १३१९ मिटरको उचाइमा अवस्थित सो स्थानमा चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले गत असार ६ गते (२० जुन २०२५) दिउँसो २:३० बजे यो चराको अवलोकन गरेका थिए।
टोलीले चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गरेपछि असार ९ गते नेपाल पन्छीविद् संघ अन्तर्गतको नेपाल बर्ड रेकर्ड कमिटी (NBRC) मा विवरणसहित प्रतिवेदन पेश गरिएको थियो। कमिटीले प्राप्त तस्बिर तथा विवरणको अध्ययन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग परामर्श गरेपछि सो चरा वास्तवमै Siberian Sand Plover (वैज्ञानिक नाम: Charadrius mongolus Pallas, 1776) भएको पुष्टि गरेको हो। यसलाई नेपालीमा ‘साइबेरियाली राजपुत्रिका’ नाम दिइएको छ।
यो प्रजाति अघिल्लो समय Lesser Sand Plover (सानो बालुवा हाँडचुच्चे) को उपप्रजातिको रूपमा चिनिएको थियो। तर हालैको वैज्ञानिक वर्गीकरण अनुसार Tibetan Sand Plover र Siberian Sand Plover लाई छुट्टाछुट्टै प्रजातिको रूपमा मानिन्छ। यसअघि नेपालमा Tibetan Sand Plover मात्रै अभिलेख गरिएको थियो। नयाँ प्रजातिको थपसँगै नेपालको चरा सूचीमा अब ९०२ प्रजाति पुगेका छन्।
Charadriidae परिवारको यो चरा Charadriformes वर्गमा पर्दछ र IUCN को रेड लिस्टअनुसार संकटापन्न (Endangered) प्रजातिमा सूचीकृत छ। यो प्रजाति मुख्यतः साइबेरियामा पाइने भए पनि बसाइँसराइको क्रममा चीन, जापान, अस्ट्रेलिया, न्यूजील्याण्डसहित थुप्रै देशमा देखिएको छ।
नेपालको चराविज्ञानमा उल्लेखनीय योगदान पुर्याएकोमा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेलाई नेपाल बर्ड रेकर्ड कमिटीले बधाई तथा धन्यवाद दिएको छ।
(तस्बिरमा: साइबेरियाली राजपुत्रिका; फोटो सौजन्य: कुमुद पराजुली)