गथांमुगः पर्वलाई घण्टाकर्णसँग नजोडौंः मौलिक संस्कृति संरक्षणका लागि सचेत बनौं

0


 

काठमाडौं । काठमाडौं उपत्यकामा परम्परागत रूपमा मनाइँदै आएको गथांमुगः पर्व पछिल्लो केही दशकयता ‘घण्टाकर्ण’सँग जोडेर व्याख्या गरिँदै आएको पाइन्छ । तर संस्कृतिविद्हरू र परम्परा विज्ञहरू भन्छन—गथांमुगः र घण्टाकर्ण एकै चाड होइनन् । नाम, उत्पत्ति, प्रतीक, तात्विक अर्थ, परम्परा, पौराणिक सन्दर्भ र सामाजिक सन्देश सबै हिसाबले यी दुई अलग परिपाटीका पर्व हुन् ।

वास्तवमा गथांमुगः पर्व नेवार समुदायको श्रमशील संस्कृति, कृषि चक्र, तान्त्रिक परम्परा र सांस्कृतिक अनुशासनसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्व हो । यसलाई भारतीय पौराणिक पात्र ‘घण्टाकर्ण’सँग जोडेर बुझ्दा काठमाडौं उपत्यकाको मौलिक सम्पदामा विकृति सिर्जना हुन थालेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

घण्टाकर्ण को हुन ? कहाँबाट आयो भ्रम ?

‘घण्टाकर्ण’ भनेर चिनिने पात्र प्राचीन हिन्दू तान्त्रिक ग्रन्थ रुद्रायमल तन्त्र लगायतका शास्त्रमा वर्णित एक नास्तिक राक्षस हुन्, जो कुनै पनि देवी–देवतामा विश्वास गर्दैनथ्यो । उनी भारतको काशी क्षेत्रसँग सम्बन्धित मानिन्छन् । काशीको ’कर्णघण्टा’ नामक पोखरी र त्यहाँको घण्टाकर्ण मूर्तिले त्यस कथालाई पुष्टि गर्ने आधार दिन्छ ।

कुनै कालखण्डमा जब खस समुदायको वर्चस्व सञ्चार माध्यममा बढ्यो, त्यतिबेला नेपाल भाषा र संस्कृतिमा आधारित पर्वहरूलाई मनपरी उल्था गर्दै परिभाषित गरियो । गथांमुगःलाई ’घण्टा बजाउने पर्व’ भनेर व्याख्या गर्ने क्रममा “गँ” = घण्टा, “था” = बजाउने, “मुगः” = घन भनेर अर्थ लगाइयो, जसले यस पर्वलाई सीधै ‘घण्टाकर्ण’सँग जोड्ने भ्रम सिर्जना गरायो । तर यो भाषिक विश्लेषण र सांस्कृतिक मेलमिलाप पूर्णतः त्रुटिपूर्ण छ ।

गथांमुगःः एक श्रमशील समाजको तान्त्रिक संस्कार

गथांमुगः पर्व काठमाडौं उपत्यकाको कृषिजीवनसँग गहिरो रूपमा गाँसिएको छ । परापूर्वकालमा नेपाल मण्डल एक अत्यन्तै उब्जाउ क्षेत्र भए पनि जनसंख्या कम र आधुनिक उपकरणको अभावका कारण खेती गर्न अति कठिन कार्य थियो । रोपाइँलाई समयमै गर्नुपथ्र्यो—नत्र भोकमरीका दिन आउन सक्थे । यस्तो अवस्थामा किसानहरू ‘सिन्हां ज्याः’ अर्थात् ‘मरेर गर्ने काम’ भनी खेतीपातीका कामलाई अति आवश्यक मान्थे ।

कथन अनुसार यदि रोपाइँको बेला कोही व्यक्तिको मृत्यु भयो भने पनि अन्त्येष्टि रोकिएर पहिले खेती गर्ने, पछि मात्र शवको काजक्रिया गर्ने गरिन्थ्यो । त्यसैले यो पर्व जीवनभन्दा पनि महत्वपूर्ण श्रमको सन्देश दिन्छ ।

शारीरिक रूपमा कठिन यी कार्यहरू सम्पन्न गर्न बल र जोश चाहिन्थ्यो । त्यसका लागि भूत चढाउने तान्त्रिक विधिको प्रयोग हुन्थ्यो । भूत साधनाबाट मान्छेमा असाधारण शक्ति प्राप्त गराइन्थ्यो जसले ऊ खेतीका कठिन कार्य सजिलै सम्पन्न गर्न सक्थ्यो ।

भूत भित्र्याउने र भगाउने परम्परा

अक्षय तृतियाको अघिल्लो दिन भूत दुकाय्गु गरिन्छ, जसमा भूतहरूलाई शहरमा प्रवेश गराइन्छ । यी भूतहरूले रोपाइँको क्रममा सहकार्य गर्छन् । रोपाइँ समाप्त भएपछि, अर्थात् श्रावण कृष्ण चतुर्दशीका दिन गथांमुगः पर्वमा तान्त्रिक विधिबाट ती भूतहरूलाई बाहिर निकाल्ने परम्परा छ ।

“गथांमुगः” शब्दमा ‘गः’ (स्थान), ‘था’ (बीच), र ‘मुगः’ (मिलन बिन्दु) भन्ने अर्थ पाइन्छ । यसको व्युत्पत्ति चौबाटो, चोक, छ्वासः (क्षेत्रपालको स्थान) जस्ता स्थानहरूमा आधारित छ । टोलका नामहरूजस्तै किलागः, प्यंगःथां, नौमुगः आदि पनि यसै परिपाटीका उदाहरण हुन् ।

त्यस दिन बिहानैदेखि टोलटोलका चौवाटोमा नर्कटकोे झ्याङ राखिन्छ, जसमा डरलाग्दा पुतलीहरू झुण्ड्याइन्छ । एकजना तल्लो जातको बालकलाई दहीचिउरा खुवाएर पूजा गरिन्छ । साँझपख यो झ्याङ खोलातिर तानेर, विभिन्न तान्त्रिक विधिबाट पूजा गरी, खोलामा बगाइन्छ । यस कर्मबाट भूतलाई नगर बाहिर भगाइएको विश्वास गरिन्छ ।

घरको शुद्धि र सुरक्षाका उपायहरू

यस दिन साँझ घरघरमा तीन खुट्टे फलामको किल्ला ठोक्ने, विशेष पूजा गर्ने, ढोका बन्द गरेर रातभर बाहिर ननिस्कने चलन छ । घरलाई शुद्ध गर्ने यस क्रियालाई सिनाज्याः ब्यंकेगु भनिन्छ । रोपाइँ सकिएको घरमा मात्रै यो गरिन्छ भन्ने परम्परा छ ।

भूत नलागोस् भनेर फलामको औंठी लगाउने चलन आज पनि कायम छ । विश्वास अनुसार फलामले भूतप्रेत, पिशाचहरूको प्रभाव हटाउँछ ।


तन्त्र साधना र बोक्सीविद्या तिखार्ने रात

गथांमुगःको रात बोक्सी तथा तान्त्रिकहरूको लागि पनि विशेष मानिन्छ । यो रात मशानको शक्तिपीठमा गएर तान्त्रिकहरूले बोक्सी विद्या तिखार्ने गर्दछन् । विश्वास अनुसार यस रात बोक्सीहरूले जीवात्मा (हंस) तानेर बलि दिन सक्ने क्षमता प्रदर्शन गर्छन् ।

कथन अनुसार केही बोक्सीहरू आफ्नो लोग्नेको बलि दिएर अजेय शक्ति प्राप्त गर्न खोज्थे । यस्ता बोक्सीको चित्रण जयबागीश्वर मन्दिर र पाटनको म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा देख्न सकिन्छ । तान्त्रिकहरू आफ्ना औंलामा आगो बालेर हावामा उड्दै आउने विश्वास छ—जसले उनीहरूको शक्ति निर्धारण गरिन्छ ।

संस्कृति माथि आक्रमणः ‘गठे मंगल’ भन्नु अझै अपमानजनक

केही वर्षयता कतिपयले गथांमुगः पर्वलाई ‘गठे मंगल’ भनेर सम्बोधन गर्न थालेका छन्, जुन अझै गम्भीर सांस्कृतिक विकृति हो । यस्तो नामले न केवल पर्वको नाम विगार्छ, तर मूल सन्देश र परम्परालाई समेत लत्याउँछ ।

नेवाः समुदायका संस्कृतिविद्हरू भन्छन्, “गथांमुगः हाम्रो इतिहास, जीवनशैली र तान्त्रिक परम्पराको अमूल्य धरोहर हो । यसलाई बाह्य धार्मिक पात्रहरूसँग जोडेर बुझाउने चलनले हाम्रो पहिचानमा खतरा ल्याएको छ ।”

आफ्नै चाड, आफ्नै गर्व

भूत प्रेत, तान्त्रिक परम्परा, कृषि संस्कार र श्रमको महत्त्वलाई एकैसाथ समेट्ने गथांमुगः पर्व काठमाडौं उपत्यकाको मौलिक सम्पदा हो । आधुनिक समयमा कतिपयलाई भूतप्रेतको कुरा ‘अविज्ञान’ लाग्न सक्छ, तर यही परम्परा शताब्दीयौँदेखि जीवनशैलीसँग गाँसिएको छ ।

गथांमुगः कुनै ‘घण्टाकर्ण’ होइन । यो आफ्नै कथा, विश्वास, आवश्यकता र ऐतिहासिकतामा आधारित चाड हो ।

त्यसैले, यस चाडलाई सही ढंगले बुझौं, व्याख्या गरौं र प्रचार गरौं । गथांमुगः हाम्रो सांस्कृतिक जरा हो—यसलाई नफेरौं, नबिगारौं ।

अन्तमा सञ्चारकर्मी, लेखक, ब्लगर, शिक्षक र आम नागरिकहरू सबैले गथांमुगः पर्वलाई यसको मौलिकताको साथ प्रचार–प्रसार गर्नुपर्छ । भ्रम फैलाउने ‘घण्टाकर्ण’ वा ‘गठे मंगल’जस्ता विकृति रोक्न सामूहिक सचेतना आवश्यक छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top