भक्तपुर । नेपालकै दास्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा बुधबारदेखि मिर्गौला रोगीका लागि अत्यावश्यक डायलाइसिस सेवा सुरु गरिएको छ । बागमती प्रदेशअन्तर्गतको यो प्रादेशिक अस्पतालमा प्रदेश सरकारको सहयोगमा पाँच बेडसहितको डायलाइसिस सेवा सुरु भएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक समारोहबीच सेवाको उद्घाटन गरेका छन् ।
मन्त्री थापाले अस्पताल परिसरमै आयोजित कार्यक्रममा भने, “हजारौँ मिर्गौला पीडितका आँखामा आशा ल्याउने आजको दिन, भक्तपुर अस्पतालमा डायलाइसिस सेवा सुरु गरिएको छ । यो स्वास्थ्य सेवा पहुँचको हक हो—यो हाम्रो प्रतिबद्धताको प्रगाढ अभिव्यक्ति हो ।”
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले १६ वटा डायलाइसिस मेसिन खरिद गरेकोमा भक्तपुर अस्पताललाई पाँच थान मेसिन उपलब्ध गराइएको छ । बागमती प्रदेशका १३ मध्ये रसुवा र काठमाडौंबाहेक अन्य ११ जिल्लामा अब डायलाइसिस सेवा उपलब्ध हुने स्वास्थ्य मन्त्री थापाले जानकारी दिए ।
अस्पतालकी पूर्वनिर्देशकसमेत रहेकी बागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताल न्यूनतम सेवा मापदण्डअनुसार बी ग्रेडका अस्पतालमध्ये देशकै उत्कृष्ट बन्न सफल भएको दाबी गरिन् । उनले भनिन्, “भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न सक्ने संस्था बनेको छ ।”
डायलाइसिस सेवा सुरु भएको जानकारी दिँदै अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले भने, “संघीय सरकारअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा विभागबाट सूचीकरण भई अनुमति पाएसँगै सेवा सुरु गरिएको हो । विभागले एक सातापछि निःशुल्क सेवा दिने निर्णय गरेपछि मात्रै बिरामीले पूर्ण निःशुल्क सेवा पाउने छन् ।”
हाल दैनिक चार बिरामीलाई सेवा दिन सकिने अस्पतालले निकट भविष्यमै जनशक्ति र समय थप गरेर सेवा तीन सिफ्टमा विस्तार गर्ने तयारी गरेको छ । त्यसपछि दैनिक १२ जना बिरामीले डायलाइसिस सेवा लिन सक्ने डा. भट्टले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वसांसद शशिजंग थापाका अनुसार, भक्तपुर अस्पतालमा डायलाइसिस सेवा निःशुल्क हुनेछ । यसले मिर्गौला पीडितहरूलाई ठूलो राहत मिल्ने उनले बताए ।
भक्तपुर अस्पतालकै परिसरभित्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भए पनि उक्त केन्द्रमा डायलाइसिसको माग अनुसार सेवा विस्तार हुन नसक्दा बिरामीहरू निजी क्लिनिक धाउन बाध्य भएका थिए । कतिपयलाई महिनौँसम्म पालो कुरेर बस्नुपर्ने अवस्था थियो ।
यसैबीच, यही साउन १६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरमा बागमती प्रदेशका सम्पूर्ण १३ वटै जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिने भएको छ ।
बुधबार संचारकर्मीहरूसँगको छोटो कुराकानीमा स्वास्थ्य मन्त्री थापामगरले गठ्ठाघरस्थित जर्मन होम्समा भव्य समारोह आयोजना गरिने जानकारी दिए । उक्त अवसरमा बागमती प्रदेश डिजिटल हेल्थ सेवा र भक्तपुरसहित दुई जिल्लालाई ‘टेलिमेडिसिन हब’ का रूपमा घोषणा गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए ।