भक्तपुर । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको सांस्कृतिक पहिचान र ऐतिहासिक महत्वको धरोहर पनि हो । तर, यसको संरक्षण र व्यवस्थापनमा देखिएको विसंगतिलाई चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले गम्भीर रूपमा प्रश्न उठाएका छन् । नगरपालिकाको पर्यटन शाखाले आयोजना गरेको छलफल कार्यक्रममा उनले मन्दिरलाई “सुनको कचौरा” सरहको सम्पत्ति भए पनि स्थानीयको बेवास्ता र अपनत्वको कमीले यसलाई “पित्तलको कचौरा”मा परिणत गरेको तीखो टिप्पणी गरेका छन् ।
खत्रीले स्पष्ट पार्दै भने, “यो सम्पदा यहाँका बासिन्दाका लागि सुनको कचौरा हो तर समुदायले जिम्मेवारी नलिएपछि यसको मूल्य घट्दै गएको छ । व्यक्तिगत स्वार्थका लागि मन्दिरलाई विभाजित गरेर उपयोग गर्ने, सत्तल कब्जा गर्ने, ताल्चा मार्ने र सम्पदा आफ्नै नाममा दर्ता गर्ने प्रवृत्ति मौलाएको छ । यस्तो व्यवहारले सम्पूर्ण सम्पदाको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्छ ।”
नगर प्रमुख खत्रीले मन्दिर व्यवस्थापनमा पारदर्शिता अनिवार्य हुनु पर्नेमा जोड दिए । उनको भनाइमा, भेटी तथा चढावा व्यवस्थापनलाई कोषमा व्यवस्थित ढंगले संकलन गर्ने र त्यसलाई सार्वजनिक गर्न सकिएमा नगरपालिका २० करोड रुपैयाँसम्मको लगानी गर्न तयार रहेको बताए ।
“हामी खर्च गर्न तयार छौँ, तर सर्त स्पष्ट छ,” खत्रीले भने, “आम्दानी सार्वजनिक हुनुपर्छ, पुजारीलाई जीवन धान्न पुग्ने गरी नियमित तलब दिन सकिन्छ, जात्रा–पर्वलाई निरन्तरता दिन सकिन्छ । तर, एउटा रुपैयाँ पनि लुकाएर प्रयोग गर्न पाइँदैन । सबै रकम सरकारी राजस्वमा दाखिला हुनुपर्छ ।”
उनले चाँगुनारायण मन्दिरलाई पर्यटन केन्द्रको रूपमा रूपान्तरण गर्न सकिने सम्भावनाबारे पनि धारणा राखे । उनका अनुसार पशुपति मन्दिरमा आउने पर्यटकमध्ये २ प्रतिशत मात्र वैष्णव धर्मावलम्बीलाई चाँगुनारायण ल्याउन सकियो भने प्राप्त आम्दानीले मन्दिरको दीर्घकालीन संरक्षण र सञ्चालन खर्च धान्न सकिन्छ ।
नगरपालिकाले मन्दिरलाई पशुपति विकास कोषको मोडालिटीमा लैजान निर्णय गरिसकेको र यसबारेमा संघीय सरकार तथा संस्कृति मन्त्रालयलाई पत्राचार भइसकेको जानकारी खत्रीले दिए । उनका अनुसार राज्यको प्रत्यक्ष संलग्नता बिना चाँगुनारायणको भविष्य संकटमा छ ।
मन्दिर व्यवस्थापनमा कार्यरत चारवटा समितिहरु रहेको छन् । जसका बीचमा आपसी द्वन्द्वले मन्दिरको विकास अवरुद्ध भएको छ । अधिकार विवाद, पुजारीबीचको विभाजन र गुठी संस्थानको निष्क्रियताले सम्पदाको भविष्य असुरक्षित बनेको नगर प्रमुखको निष्कर्ष छ । गुठी संस्थानले आफ्नो नाममा दर्ता गरिएका जग्गा र सम्पत्तिको संरक्षण नगरेपछि व्यक्तिहरूले कब्जा जमाएको घटनासमेत देखिएको उनले औंल्याए ।
स्थानीयवासी र समितिका सदस्यहरूले पनि भेटी आम्दानीमा अपारदर्शिता, सत्तललाई निजी प्रयोगमा ल्याउने, विदेशीलाई भाडामा दिने, मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्ने, फोहोर थुपार्ने जस्ता गतिविधिले सम्पदाको गरिमा घटाएको गुनासो गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले समस्यालाई दीर्घकालीन छलफलमार्फत समाधान गर्दै पर्यटक–मैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले भने, “यो केवल एक दिनको छलफलले समाधान हुने विषय होइन । सबै सरोकारवाला बीच निरन्तर संवाद र समुदायस्तरीय सहमति नै दीर्घकालीन समाधानको आधार हो ।”
वडा नं. ४ का अध्यक्ष रोजबहादुर तामाङले मन्दिरभित्रका कुहिएका काठ व्यवस्थापन गरी घाटमा पठाउने, फलामका मेच हटाउने र वरपरको जंगल छाँटेर मन्दिरको गजुरलाई दृष्टिगोचर बनाउने कार्य अगाडि बढाइने जानकारी दिए ।
वडा नं. ५ का अध्यक्ष जयन्द्र खड्काले समस्या समाधानमा स्थानीयको गम्भीरता अपरिहार्य रहेको बताए । उनले स्पष्ट पार्दै भने, “मन्दिरको अस्तव्यस्तता नगरपालिकाले मात्र समाधान गर्न सक्दैन । स्थानीय बासिन्दाले जिम्मेवारी लिनुपर्छ, पुजारी र भँडेल समूह मिल्नुपर्छ । दोषारोपण गर्ने प्रवृत्तिलाई त्याग्नैपर्छ ।”
संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख देवन्द्र भट्टराईले मन्दिर क्षेत्रमा राखिएका फलामका मेचलाई तत्काल हटाउनुपर्ने आवश्यकता औंल्याए । पर्यटन शाखा प्रमुख गोविन्द कट्टेलले मूल पुजारी छलफलमा नआउने, गुठी संस्थानले पत्र बेवास्ता गर्ने प्रवृत्तिले समस्या झनै जटिल बनाएको बताए ।
किलेश्वर मन्दिरका पुजारी शंकरराज भट्टले मन्दिरको रंग रोगन र संरचनामा मौलिकता बेवास्ता भएको गुनासो गरे । “नयाँ निर्माण भइरहँदा पुरानो स्वरूप संरक्षणमा ध्यान नदिँदा सम्पदाको मौलिकता हराउँदै गएको छ,” उनले भने । छिन्नमस्ताका पुजारी कलशमान कर्माचार्यले गुठी संस्थानले केवल चढाइएका सामग्री संकलन गर्ने तर अन्य समयमा जिम्मेवारी नलिने गरेको बताए । उनका अनुसार जात्रा–पर्वमा प्रयोग हुने खट र छत्र बेवास्ता गर्दा तीव्र रुपमा क्षय भएको छ र यसले पर्यटकलाई निराश तुल्याएको छ ।
समितिका सदस्य दिनेश खनालले जिम्मेवार निकाय मौन बसेकाले समस्या बढेको भन्दै छलफलमार्फत समाधान खोज्न सकिने विश्वास व्यक्त गरे । भँडेल चारनाईकेका प्रतिनिधि श्रीकुमार भँडेलले नगरपालिकाले व्यवस्थापनमा निर्णायक भूमिका खेल्नुपर्ने बताए भने स्थानीय दिनेश श्रेष्ठले “समस्या भित्रैबाट समाधान खोज्नुपर्छ” भन्दै समुदायलाई सक्रिय हुन आह्वान गरे ।
चाँगुनारायण नगरपालिकाले यस वर्ष भ्रमण वर्षको अवसर पारेर विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारीमा रहेको छ । तर, सम्पदाको संरक्षण र व्यवस्थित व्यवस्थापनमा ढिलाइ भए सुनको कचौरा पित्तलको खिया लागेको भाँडोमा परिणत हुने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नै धमिलिने खतरा बढ्दै गएको चेतावनी सरोकारवालाहरूले दिएका छन् । विश्वविद्यालयस्तरीय अध्ययन गर्ने विद्यार्थी वा अनुसन्धानकर्ताका लागि चाँगुनारायणको अवस्था केवल स्थानीय समस्या मात्र नभई सम्पदा व्यवस्थापन, सार्वजनिक नीति र समुदाय–राज्य सम्बन्धबारे अध्ययनको महत्त्वपूर्ण थलो बनेको देखिन्छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
