ओलीको कटाक्ष ः “विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन”

0



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दो असन्तोष र आन्तरिक शक्ति संघर्षका बीच काठमाडौंका नेता–कार्यकर्तालाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा प्रशिक्षण र प्रवचनसहितको शृङ्खला शुरु गर्न थालेका छन् ।

शुक्रबारका लागि बोलाइएको दशौं केन्द्रीय कमिटीको बैठक एकाएक स्थगित गरेपछि ओलीले बुधबार साँझ काठमाडौं जिल्ला कमिटी, केन्द्रीय सदस्यहरू तथा बागमती प्रदेशका नेताहरूसँग बालुवाटारमा लामो छलफल गरे । छलफलका क्रममा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई लक्षित गर्दै तीखा टिप्पणी गरेको स्रोतले जनाएको छ ।

ओलीले पार्टीभित्र आफूलाई चुनौती दिन सक्ने एकमात्र नेता विद्यादेवी भण्डारी रहेको दाबी गर्दै भने, “विद्याबाहेक अरू कसैको दम छैन । उहाँले छोडे सबै कुरा मिल्छ ।” उनले भण्डारीले एमालेमा आएर अध्यक्ष बन्ने चाहना राखेको संकेत गर्दै त्यसलाई असम्भव ठहर गरे । “विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ,” ओलीको भनाइ थियो ।

ओलीले भण्डारीमाथि पार्टीविरोधी गतिविधि गरेको आरोप लगाए । उनले भने, “पूर्वराष्ट्रपति भएर अशोभनीय गतिविधि गर्नु हुँदैन । पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ ।” उनले चक्रपथ अनलाइनजस्ता मिडिया प्रयोग गरेर आफ्नो विरुद्ध अभियान चलाइएको आरोपसमेत लगाएका थिए ।

ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै भने, “ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन । अभागीलाई खाने बेलामा रिस उठ्छ जस्तै भएको छ ।” पोखरेलले विधान महाधिवेशनमा फरक मत राख्ने तयारी गरेपछि ओली थप आक्रामक भएका छन् ।

ओलीले भण्डारीलाई पार्टी सञ्चालनको अनुभव नभएको दाबी गर्दै भने, “मैले भनेँ – भ्रममा नपर्नुस्, तपाईंसँग एमाले हाँक्ने अनुभव छैन ।” उनले भण्डारीले आफैं अध्यक्ष बन्ने इच्छा देखाएको र आफूलाई सहयोग गर्न अनुरोध गरेको खुलासा गरे ।

ओलीले मदन भण्डारीका विचारलाई पार्टीको साझा सम्पत्ति बताउँदै भने, “जबज कुनै परिवारको सम्पत्ति होइन । जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन ।” उनले मदन भण्डारी फाउन्डेशन आफूले खोलेको स्मरण गर्दै त्यसबेला स्मृति दिवस मनाउन नपाउँदा फाउन्डेशन गठन गरिएको बताए ।

छलफलमा ओलीले आफ्नो स्वास्थ्य सबल रहेको दावी गर्दै कार्यकाल र ७० वर्षे उमेर सीमाको कुनै आवश्यकता नरहेको बताए । “साथीहरूको आमचाहना र समयको मागअनुसार म स्वस्थ भएकाले कार्यकाल र ७० वर्षे आवश्यकता रहेन,” उनले भने । यसबाट उनी एमालेको नेतृत्व तहमा जीवनको उत्तरार्धसम्म रही रहने अभिलाषा रहेको ख्लासा गरे ।

ओलीले वैकल्पिक राजनीति उदाउँदै गरेका नेताहरूबारे पनि टिप्पणी गरे । उनले भने, “रवि लामिछानेलाई मैले नै बनाएको हो । राजेन्द्र लिङ्देनले झापामा जितेका छन्, हिजो पनि हामीले सहयोग गरेका थियौं ।”

पार्टीभित्र शक्ति सन्तुलनको लडाइँ चर्किदै जाँदा अध्यक्ष ओली आफ्नो पकड बलियो बनाउन जिल्ला र प्रदेश नेताहरूसँग प्रत्यक्ष संवादमा उत्रिएका छन् । पूर्वराष्ट्रपति भण्डारी र वरिष्ठ उपाध्यक्ष पोखरेललाई खुला चुनौति दिँदै उनले आफूलाई विकल्पविहीन नेता भएको सावित गर्ने प्रयास गरिरहेका छन् ।

अब विधान महाधिवेशनमार्फत एमालेभित्रको यो तिक्तता साम्य हुने कि झन चर्किने भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ । यो समयले तय गर्नेछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top