भक्तपुर । मध्यपुर थिमिमा अवस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूको स्वागत र कक्षा १२ उतिर्ण गरी उच्च शिक्षा प्रवेशका लागि तयार रहेका विद्यार्थीहरूको बिदाई तथा बधाईका लागि शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा संघीय सांसद तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति, शिक्षा शाखा प्रमुख सुरेश अधिकारी, नगरपालिका प्रतिनिधि एवं व्यवस्थापन समितिकी सदस्य धना गिरी लगायत अन्य पदाधिकारीहरू पनि उपस्थित थिए ।
सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरूलाई अभिनन्दन गरेका थिए । विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले संस्थाको ३७ वर्षे शैक्षिक यात्राको प्रगति विवरण प्रस्तुत गर्दै उत्कृष्ट र युगानुकूल शिक्षा प्रदान गर्न संस्थाले निरन्तरता दिँदै आएको जानकारी गराए ।
कार्यक्रममा प्रमुख अतिथि थापासहित अन्य वक्ताहरूले विद्यालयले शिक्षा, संस्कृति र अनुशासनमा पु¥याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए । विद्यालयका प्लस टु संयोजक तुलसीहरी प्रजापतिले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
साथै, शैक्षिक सत्र २०८०÷८१ र २०८१÷८२ मा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थी रिना श्रेष्ठ र बिना श्रेष्ठलाई नगदसहित “तुइकाजी तुइल माया शिक्षा पुरस्कार” प्रदान गरिएको विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागीतामार्फत विद्यालयको शैक्षिक र सांस्कृतिक पक्षको सशक्त प्रस्तुति भएको प्रतिक्रिया अभिभावक, विद्यार्थी तथा अतिथिहरूबाट प्राप्त भएको थियो ।