ललितपुर । प्रख्यात लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपाली र नेपालभाषाको गीतसंगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप नेपालरत्न सम्मान प्रदान गरिएको छ। नेवाः साधना कला केन्द्रको आयोजनामा उहाँको ९०औं जन्मोत्सवको अवसर पारेर आयोजित विशेष कार्यक्रममा नेपालरत्न सम्मान प्रदान गरिएको हो। कार्यक्रममा केन्द्रका प्रतिनिधि पौभाः साय्मिले गायक बेहोसीको लामो सांगीतिक यात्रालाई नेपाली सांस्कृतिक धरोहरको अभिन्न अंशका रूपमा मूल्याङ्कन गरिएको जानकारी दिनुभयो।
सम्मान समारोह ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको थियो। सोही अवसरमा “रत्न बेहोसी एकल साँझ” शीर्षकमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ गायक बेहोसीका लोकप्रिय गीतहरू प्रस्तुत गरिएको थियो। गायक बेहोसीले १२ वर्षको उमेरदेखि नाटक तथा संगीत क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। विक्रम संवत् २०१० सालदेखि नेपाली र नेपालभाषाको गीतसंगीतको श्रीवृद्धिमा उहाँको योगदान विशेष रहँदै आएको छ।
उहाँले विक्रम संवत् २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण दिँदा १७ जना प्रतिस्पर्धीमध्ये एकल गायकका रूपमा छनोट हुनुभएको थियो। त्यसै दिन उहाँको स्वरमा गीत प्रत्यक्ष प्रसारण गरिएको थियो। रेडियो नेपालबाट स्वर परीक्षण पास गरी प्रत्यक्ष प्रसारणमा गीत गाउने दुर्लभ गायकहरूमा उहाँ एक हुनुहुन्छ।
उहाँका समकालीन संगीत साधकहरूमा स्वर सम्राट नारायणगोपाल, गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठ, गायक शिवशंकर मानन्धर र भक्तराज आचार्यजस्ता व्यक्तित्वहरू पर्दछन्। यी सबैलाई नेपाली आधुनिक संगीतको दोस्रो पुस्ताका प्रतिनिधि मानिन्छ। पहिलो पुस्ताका संगीत साधकहरूमा मास्टर रत्नदास प्रकाश, हरिकृष्ण श्रेष्ठ, बच्चु कैलाश लगायतका गायकहरू रहेका छन्।
गायक बेहोसीले नेपालभाषामा ५० भन्दा बढी र नेपाली भाषामा कम्तिमा १० गीत गाइसक्नु भएको छ। उहाँका स्वरबद्ध तथा रचित थुप्रै गीतहरू अझै पनि क्यासेटमा सुरक्षित अवस्थामा रहेको जनाइएको छ। यसअघि उहाँलाई ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कारद्वारा पनि सम्मानित गरिएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
