जुम्लाको स्याउ भक्तपुरमा - सस्तो, स्वादिलो र अर्गानिक

0



भक्तपुर । जुम्लाबाट ल्याइएको ताजा स्याउ यस वर्ष पनि भक्तपुरको बजारमा पुगेको छ। भाद्रको पहिलो सातादेखि सुरु भएको स्याउ टिपाईसँगै, जुम्लाका कृषक तथा व्यवसायीहरूले भक्तपुरको कमलविनायक क्षेत्रमा विक्री वितरण गरिरहेका छन्। सस्तो, स्वादिलो र कुनै रासायनिक पदार्थ नहालेको अर्गानिक स्याउ उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ।

जुम्लाबाट भक्तपुर स्याउ ल्याउने व्यवसायी हरि राउटका अनुसार स्याउको देखिने रूप रंग परम्परागत विदेशी स्याउको तुलनामा कम आकर्षक भए पनि स्वादमा भने कुनै तुलना छैन। “स्याउको छाला अलिक कालो, डाग लागेको देखिन्छ, तर स्वादमा उत्तिकै मीठो र अर्गानिक छ। रासायनिक मल वा विषादी प्रयोग नगरेकोले स्वास्थ्यका लागि पनि लाभदायक छ,“ राउटले बताए।

बजारमा माग भएअनुसार मात्रै ढुवानी

कोल्ड स्टोर वा दीर्घकालीन भण्डारण कक्षको अभावमा, व्यवसायीहरूले बजारमा विक्रीअनुसार स्याउ ल्याउने रणनीति अपनाएका छन्। “पछिल्ला वर्षहरूमा बजार नपाउँदा स्याउ बोटमै कुहिएको, गाईवस्तुलाई खुवाउनु परेको वा माटोमा पुर्नु परेको अवस्था आएको थियो,“ राउटले विगत सम्झिँदै सुनाए।

हालको अवस्थामा भने, जुम्लाबाट टिपिएको स्याउ एक साता भित्र काठमाडौ–भक्तपुर क्षेत्रमा ल्याएर विक्री गर्ने गरिन्छ। सिजनको सुरुवातसँगै भाद्र महिनामा दुई ट्रक स्याउ बिक्री भइसकेको उनले जानकारी दिए।

स्वरोजगार र पारिवारिक सहभागिता

हरि राउटका अनुसार स्याउ व्यवसायबाट उनले आफ्ना श्रीमती, छोराछोरी लगायत अन्य केही व्यवसायीलाई समेत रोजगारी दिएका छन्। उनका छोरा गणेश राउट पनि कक्षा १२ उत्तीर्ण गरेपछि डिप्लोमा पढ्नुअघि परिवारको व्यवसायमा सक्रिय छन्। “मैले विज्ञान विषयमा कक्षा १२ पास गरिसकेको छु, अब ख्वप कलेजमा डिप्लोमा पढ्ने तयारी गर्दैछु,“ गणेशले बताए। उनले स्वरोजगारलाई प्राथमिकता दिँदै विदेशिनु नपर्ने विश्वास व्यक्त गरे।

ढुवानीमा चुनौती, भण्डारणमा अभाव

जुम्लाबाट काठमाडौँसम्मको लामो दूरी, झन् बाढीपहिरोको जोखिमयुक्त सडकका कारण ढुवानीमा ठूलो चुनौती रहेको व्यवसायीको गुनासो छ। “हेलिकप्टरबाट त ल्याउन सकिन्न, गाडीबाट ल्याउँदा बाटो अबरुद्ध हुँदा दुई–चार दिन ढिलाइ हुनसक्छ, जसले गर्दा स्याउ बिग्रिन्छ र लगानी जोखिममा पर्छ,“ राउटले पीडा पोखे।

यदि कोल्ड स्टोरको सुविधा उपलब्ध भएको भए, वर्षभरि स्याउ भण्डारण र विक्री सम्भव हुने र दीर्घकालीन व्यवसायको बाटो खुल्ने उनको भनाइ छ।

स्थानीय उपभोक्ताको विश्वास

भक्तपुरका पूर्व शिक्षक सहदेव शाखकर्मी, हरिकृष्ण राउट तथा श्रीकृष्ण केसीजस्ता उपभोक्ताहरूले जुम्लाको स्याउ नियमित रूपमा खाने गरेका छन्। उनीहरूका अनुसार विदेशी स्याउ जति देखिनेमा चिटिक्क भए पनि स्वादमा भने जुम्लाको स्याउ नै अग्रस्थानमा छ।

“जुम्ला जाँदा गोटाको ५–१० रुपैयाँमा किनेको थिएँ। अहिले पनि यही स्याउ किनेर खान्छु, अरुलाई पनि सिफारिस गर्छु,“ शिक्षक केसीले सुनाए। केही उपभोक्ताले त यसको सुकुटी बनाउन मिल्ने भन्दै स्याउको दीर्घकालीन उपयोगमा समेत चासो देखाएका छन्।

देशको दुर्गम पश्चिम क्षेत्रमा उत्पादन भएको अर्गानिक स्याउ अहिले राजधानी नजिकै भक्तपुरमा उपभोक्ताको रोजाइ बन्न थालेको छ। सरकारी तथा निजी क्षेत्रको सहकार्यमा ढुवानी र भण्डारणको उचित व्यवस्था गरिएमा जुम्लाको स्याउले स्वदेशी बजार मात्रै नभई निर्यात सम्भावनासमेत देखाउने व्यवसायीहरूको विश्वास छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top