बागमती प्रदेश सरकारले ‘जिब्रो छेड्ने’ परम्पराका लागि २ लाख प्रोत्साहन रकम दिने

0



भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुरको थिमिमा वर्षको दुई पटक बिस्का जात्रा र येँयाको अवसरमा मनाइने ऐतिहासिक ‘जिब्रो छेड्ने जात्रा’को संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण निर्णय गरेको छ । अबदेखि जात्रामा सहभागी भई जिब्रो छेड्ने व्यक्तिलाई प्रदेश सरकारले २ लाख रुपैयाँको स्वास्थ्य उपचार सहायता तथा प्रोत्साहन रकम उपलब्ध गराउने भएको हो ।

संस्कृति तथा पर्यटन मन्त्रालयको अगुवाइमा गरिएको निर्णय अनुसार, वर्षमा दुईपटक—बिस्का जात्राको अवसरमा थिमिको बोदेमा र येँयाको अवसर तत्कालिन बालकुमारीको दिगु भैरब मन्दिर परिसरमा आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’मा सहभागी हुने व्यक्तिहरूलाई यो सहायता प्रदान गरिनेछ । संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठका अनुसार, यो जात्रा लोपोन्मुख सांस्कृतिक सम्पदाको रुपमा रहेको र यो परम्परालाई निरन्तरता दिने व्यक्तिहरूको संख्या घट्दै गएकाले प्रोत्साहन रकमको व्यवस्था गरिएको हो ।

“जिब्रो छेड्ने जात्राले जनमानसमा रोग–व्याधि हटाउने, बालीनाली फस्टाउने र प्राकृतिक विपत्तिबाट जोगाउने विश्वास रहिआएको छ,“ मन्त्री श्रेष्ठले बताए । “तर पछिल्लो समय आर्थिक अभाव र जिब्रो छेड्न इच्छुक व्यक्तिको कमीले गर्दा यो परम्परा संकटमा पर्न थालेको छ ।“

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिसकिएको र दीर्घकालीन दायित्वसँग सम्बन्धित यो प्रस्तावलाई मन्त्रिपरिषद्बाट समेत स्वीकृति लिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सहयोग रकमले जिब्रो छेड्ने व्यक्तिको स्वास्थ्य उपचारमा समेत उपयोग गर्न सकिनेछ । यसले परम्पराको निरन्तरतासँगै सहभागीको सुरक्षामा समेत टेवा पुग्ने विश्वास गरिएको छ । यस निर्णयसँगै भक्तपुरको ऐतिहासिक सांस्कृतिक परम्पराको संरक्षण र प्रचारप्रसारमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top