भक्तपुर । नेपालको चिकित्सा इतिहासमा एक ऐतिहासिक सफलता हात परेको छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ। यो उपलब्धिले देशको प्रत्यारोपण सेवालाई नयाँ उचाइमा पुर्याएको चिकित्सकहरू बताउँछन्।
प्रत्यारोपण केन्द्रले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मीकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सफल भएको जानकारी दिए। चौधरीलाई प्रत्यारोपणपछि शनिबार नै अस्पतालबाट डिस्चार्ज गरिएको छ।
डा. श्रेष्ठका अनुसार तेस्रोपटक मिर्गौला प्रत्यारोपण विश्वमै दुर्लभ मानिन्छ। “यस्तो प्रकारको प्रत्यारोपण अत्यन्त जटिल हुन्छ,” उनले भने, “प्राविधिक चुनौती, औषधीय जटिलता र उपयुक्त दाताको अभावका कारण यस्तो प्रक्रिया कठिन मानिन्छ। तर अब नेपालमा पनि यस्ता जटिल प्रत्यारोपण सम्भव छन् भन्ने प्रमाणित भएको छ।”
पूर्वमन्त्री चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा सम्पन्न भएको थियो। दोस्रो र तेस्रो प्रत्यारोपण भने नेपालमै डा. श्रेष्ठको नेतृत्वमा गरिएको हो। विशेषगरी तेस्रोपटकको प्रत्यारोपण पेयर एक्सचेन्ज प्रणालीमार्फत गैरनातेदार दाता–ग्राहीबीच अङ्ग साटासाट गरी सम्पन्न गरिएको हो।
डा. श्रेष्ठले यसअघि बेलायतमा यस्तै जटिल प्रत्यारोपणमा सहभागी भइसकेको अनुभव नेपालमा उपयोग गर्न सकिएको बताए। “हामी अब विश्वस्तरीय मापदण्ड अनुसारका जटिल मिर्गौला प्रत्यारोपण गर्न सक्षम भएका छौं,” उनले पत्रकार सम्मेलनमा उल्लेख गरे।
प्रत्यारोपण केन्द्रका अनुसार नेपालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणको सुरुवात सन् २०१० मा वीर अस्पतालबाट गरिएको थियो, जसको नेतृत्व पनि डा. श्रेष्ठले नै गरेका थिए। तेस्रोपटकको प्रत्यारोपण भने अहिलेसम्मकै सबैभन्दा जटिल तथा दुर्लभ उपलब्धि भएको केन्द्रको भनाइ छ।
सन् २०१० मा स्थापना भएको प्रत्यारोपण केन्द्रले अहिलेसम्म १,५०२ जनामा सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ।