काठमाडौं । विश्व जलवायु परिवर्तन तथा यसको प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (CCIE-2025) काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा सुरु भएको छ। शनिबारदेखि सुरु भएको तीनदिने सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी.ले गरेका हुन्।
सेन्ट्रल कलेजका उप-प्राचार्य गणेश बुढाथोकीका अनुसार, सम्मेलनमा २१ देशका करिब २०० जना वैज्ञानिक, विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको छ।
कार्यक्रम संयोजक डा. वाजिद हसनका अनुसार, भारतको एग्रिकल्चर एन्ड इन्भाइरन्मेन्टल टेक्नोलोजी डेभलपमेन्ट सोसाइटीको सहआयोजनामा भइरहेको सम्मेलनमा करिब ८०० अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछन्।
उनका अनुसार, जलवायु विज्ञान, स्मार्ट कृषि, जैव विविधता, जल सुरक्षाअग्नि जोखिम न्यूनीकरण, ग्लोबल वार्मिङ, कार्बन उत्सर्जन, कृत्रिम बौद्धिक प्रणाली (AI) मार्फत जलवायु पूर्वानुमान, प्राकृतिक स्रोत व्यवस्थापन, नीति निर्माण तथा सामाजिक र आर्थिक प्रतिरोधशीलता लगायत ९ मुख्य र ७० भन्दा बढी उप-विषयमा छलफल हुनेछ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. के.सी.ले जलवायु परिवर्तन विश्वव्यापी समस्या भए पनि यसको समाधान व्यक्तिगत स्तरबाट सुरु हुनुपर्नेमा जोड दिए। उनले सम्मेलनले बौद्धिक छलफल मात्र नभई व्यवहारिक समाधानको मार्गसमेत देखाउने विश्वास व्यक्त गरे।
कृषि तथा वन विश्वविद्यालयका निर्देशक प्रा. डा. निरञ्जन भट्टराईले समस्या समाधानका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे। संस्कृत विश्वविद्यालय, भारतका उपकुलपति प्रा. डा. महादेव क्षेत्रीले विश्वव्यापी समस्याको समाधान स्थानीयस्तरबाट सुरु हुनुपर्ने धारणा राखे।
सम्मेलनको मुख्य आकर्षणका रूपमा भारतका पद्मश्री सम्मानित वैज्ञानिक डा. राम चेट चौधरीले "नेपाल-भारतको हिमाली तराई क्षेत्रको कृषिजन्य जैवविविधता : विगत, वर्तमान र भविष्य" विषयमा उद्घाटन व्याख्यान प्रस्तुत गरे। उनले खाद्य सुरक्षाको आधार जैवविविधता संरक्षण भएको र यसले जलवायु प्रतिरोधशीलता निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।
सेन्ट्रल कलेजका प्राचार्य पारस श्रेष्ठका अनुसार, सम्मेलनबाट प्राप्त निष्कर्षहरू वन तथा वातावरण संरक्षण, वैज्ञानिक अनुसन्धान, नीति निर्माण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा समाजका लागि योगदान पुर्याउने वैज्ञानिक तथा अभियन्ताहरूलाई प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको छ।