पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव कुन्दन कुशहवाले जेनजी आन्दोलनका सबै अगुवा, कार्यकर्ता र समर्थकहरूलाई एकै मञ्चमा ल्याई आन्दोलनलाई संस्थागत बनाउने उद्देश्यले १२० सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी दिए। उनले असोज २३, २४ र २५ गते नवदुर्गा पार्टी प्यालेसलगायत देशका विभिन्न स्थानहरू र प्रवासमा रहेका नेपालीहरूसँग गरिएको ३९ स्थानको अनलाइन (डिस्कोर्ड) भेलाबाट सम्मेलन गर्ने निर्णय गरिएको पनि बताए।
भेलाले नागरिक सरकारलाई सफल बनाउन, न्यायालय र अख्तियार प्रमुखहरूको नियुक्तिमा देखिएको विवाद समाधान गर्न पहल गर्ने, र जेनजी आन्दोलनका मागअनुसार आगामी निर्वाचन गराउने विषयलाई प्रमुख कार्यभारको रूपमा अघि बढाउने निर्णय गरेको बताइएको छ।
समितिका प्रवक्ता अविन लिम्बूले ‘जेन–जीफोर्स’ गठन गरी देशभरका सुरक्षाकर्मीहरूसँग सहकार्य गर्दै भयरहित वातावरण निर्माण गर्न सुरक्षासंयन्त्रलाई सुदृढ बनाउने योजना सुनाए। साथै, सम्बन्धित विभागमार्फत सुरक्षा संयन्त्रका प्रमुखहरूसँग समन्वय गर्ने निर्णयसमेत लिइएको उनले जानकारी दिए।
पत्रकार सम्मेलनमा जेनजी आन्दोलनमा सक्रिय २० लाखभन्दा बढी देश तथा विदेशस्थित सहभागीहरूलाई साधारण र सक्रिय सदस्यका रूपमा संरचना निर्माण गर्दै आन्दोलनको रक्षा र विकासमा जोड दिने निर्णय भएको जनाइएको छ। कार्तिक १५ भित्र सबै संयन्त्रहरूलाई एकीकृत गर्ने तयारी गरिएको छ भने ६० लाख सदस्यको लक्ष्य लिइएको छ।
वितरित विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनको जगमा संसद् विघटन भई नागरिक सरकार गठन भएको हो। यस सरकारले आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्दै आगामी निर्वाचन गराउनु यसको प्रमुख कार्यभार हो।”
जेनजी २.० राष्ट्रिय समन्वय समितिले आन्दोलनलाई संस्थागत, सुदृढ र एकीकृत बनाउँदै राजनीतिक स्थायित्व र परिवर्तनको दिशा दिने प्रतिबद्धता व्यक्त गरेको छ।







%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
