जेन-जी आन्दोलन: २२ जना मात्रै प्रदर्शनकारी, अन्य ४१ जनाको मृत्युबारे अझै स्पष्टता छैन

0



काठमाडौं । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना नागरिकमध्ये २२ जना मात्रै वास्तविक रूपमा आन्दोलनमा सहभागी प्रदर्शनकारी रहेको नेपाली सेनाले पुष्टि गरेको छ। बाँकी ५४ जनामध्ये ३ जना सुरक्षाकर्मी, १० जना कैदी र अन्य ४१ जनाको मृत्युबारे भने अझै स्पष्ट विवरण सार्वजनिक भएको छैन।

नेपाली सेनाले गत शुक्रबार जंगी अड्डामा पत्रकार सम्मेलनमार्फत आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको थियो। सेनाका सहायक रथी राजाराम बस्नेतले प्रस्तुत गरेको तथ्यांकअनुसार ४५४ स्थानमा आन्दोलन भएका थिए। तीमध्ये केही स्थानमा हिंसा र आगजनीका घटनाहरू अत्यधिक भयावह बनेका थिए।

भदौ २३ गते मात्रै काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको तत्काल मृत्यु भएको थियो। त्यसको भोलिपल्ट भदौ २४ गते हिंसात्मक र विध्वंसक प्रदर्शनका क्रममा थप ५७ जनाले ज्यान गुमाएका थिए।

त्यो दिन राजधानी काठमाडौंसहितका विभिन्न शहरमा सरकारी तथा निजी कार्यालय, पसल, सुपरमार्केट र व्यापारिक प्रतिष्ठानहरूमा आगजनी र लुटपाटका घटनाहरू भएका थिए। विशेषगरी राजधानीको नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा गोली चल्दा थुप्रै प्रदर्शनकारी घाइते भएका थिए, जसमा केहीको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, आन्दोलनकै नाममा व्यापारिक प्रतिष्ठानहरू जलाउन पसेका दर्जनबढी व्यक्ति आगलागीमा जलेर मृत्यु भएका थिए। तीमध्ये ८ जनाको सनाखत अझै हुन सकेको छैन। उनीहरूको शरीर पूर्ण रूपमा जलेको हुनाले डिएनए परीक्षणबाट मात्र पहिचान सम्भव भएको र चिकित्सकहरूले चुनौतीपूर्ण मानेका छन्।

यता, देशका विभिन्न कारागारबाट भाग्ने क्रममा १० जना कैदीले सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका छन्। रामेछाप कारागारमा मात्रै ३ कैदी मारिएका थिए।

उता, आन्दोलन नियन्त्रणका लागि खटिएका ३ जना सुरक्षाकर्मीलाई आन्दोलनकारीले कुटपिट गरी हत्या गरेका थिए।



तर, सबैभन्दा धेरै प्रश्न उठाएको समूह भने सेनाले “अन्य नागरिक” भनेर उल्लेख गरेका ४१ जना हुन्। उनीहरू को थिए? कसरी मारिए? भन्नेबारे सेनाले कुनै स्पष्ट विवरण दिएको छैन। तथापि, प्रारम्भिक अनुमानअनुसार तीमध्ये अधिकांश व्यापारिक प्रतिष्ठानमा लुटपाटका क्रममा भागदौड, आगलागी वा अन्य दुर्घटनाबाट मारिएका हुन सक्ने देखिन्छ। केही कर्मचारी कार्यालयमै कार्यरत अवस्थामा फसेर ज्यान गुमाएको रिपोर्ट पनि सार्वजनिक भइसकेको छ।

सरकारले भने आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गरिसकेको छ, तर मारिएका सबै आन्दोलनमा सक्रिय सहभागी थिए कि थिएनन् भन्ने प्रश्नलाई सेनाको विवरणले झनै बहसमा ल्याएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top