काठमाडौं । नेपालको जेन-जी विद्रोहमा युवाहरूलाई एकजुट गराउन महत्त्वपूर्ण भूमिका खेलेको सामाजिक सञ्जाल डिस्कर्ड हालै साइबर हमलाको शिकार बनेको छ। भिडियो गेमरहरू माझ लोकप्रिय यस प्लेटफर्मका करिब ७० हजार प्रयोगकर्ताको संवेदनशील व्यक्तिगत विवरण लिक भएको कम्पनीले पुष्टि गरेको छ।
डिस्कर्डद्वारा जारी विज्ञप्ति अनुसार, एक अनधिकृत पक्षले थर्ड पार्टी कस्टमर सर्भिस प्रोभाइडरको सिस्टममा पहुँच बनाई प्रयोगकर्ताको निजी विवरण चोरेको हो। यसमार्फत ग्राहक सेवा र ‘ट्रस्ट एन्ड सेफ्टी’ टिमसँग सम्पर्क गरेका सीमित प्रयोगकर्ताको डेटा प्रभावित भएको जनाइएको छ।
चोरी भएको विवरणमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना, बिलिङ जानकारी, क्रेडिट कार्डको अन्तिम चार अङ्क, आईपी ठेगाना तथा ग्राहक सेवासँग आदानप्रदान गरिएका सन्देशहरूसमेत रहेका छन्। अझ गम्भीर कुरा के भने, उमेर प्रमाणिकरण प्रक्रिया अन्तर्गत पठाइएका ड्राइभिङ लाइसेन्स, पासपोर्ट जस्ता सरकारी परिचयपत्रका तस्बिरसमेत ह्याकरको पहुँचमा पुगेको कम्पनीले स्वीकारेको छ।
डिस्कर्डले प्रभावित प्रयोगकर्तालाई ईमेलमार्फत सूचित गर्ने प्रक्रिया गत हप्ता देखिनै सुरु गरिसकेको जनाएको छ। “यदि तपाईँको परिचयपत्रमा पहुँच भएको छ भने, उक्त जानकारी स्पष्ट रूपमा सोही ईमेलमा उल्लेख हुनेछ,” कम्पनीको विज्ञप्तिमा भनिएको छ।
साइबर आक्रमण २०२५ सेप्टेम्बर २० मा भएको अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, हमलाको उद्देश्य फिरौती माग्नु रहेको देखिएको छ। घटनापछि डिस्कर्डले सम्बन्धित थर्ड पार्टी प्रोभाइडरको पहुँच रद्द गर्दै आन्तरिक अनुसन्धान अघि बढाएको छ भने कानुनी निकायसँग पनि सहकार्य गरिरहेको छ।
विश्वभर २० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता भएको डिस्कर्डले यस वर्ष बेलायत र अस्ट्रेलियामा उमेर प्रमाणिकरणका लागि फेस आईडी र सरकारी परिचयपत्र अनिवार्य गरेको थियो। अस्ट्रेलियाको गोपनीयता आयुक्तले डेटा चुहावटसम्बन्धी घटनाको जानकारी पाएको पुष्टि गरिसकेका छन्।
नेपालमा भने यो सुविधा ऐच्छिक रहेको थियो। तर यही प्लेटफर्ममार्फत जेन-जी विद्रोहका क्रममा युवाहरूले विचार आदानप्रदान गर्नुका साथै साझा एजेन्डा तय गर्नेदेखि अन्तरिम प्रधानमन्त्री चयनसम्मका निर्णयमा प्रयोग भएको थियो।
डिस्कर्डमा भएको यो साइबर आक्रमणले विश्वभरका प्रयोगकर्तामाझ डेटा सुरक्षाप्रतिको चासो थप बढाएको छ। विशेषज्ञहरूले यस्ता प्लेटफर्ममार्फत संवेदनशील जानकारी आदानप्रदान गर्दा अझ बढी सतर्कता अपनाउन सुझाव दिएका छन्।
#Gen Z