विश्व जैवनीतिशास्त्र दिवस २०२५ नेपालमा ‘वातावरण, जैवमण्डल र जैविक विविधताको संरक्षण’ विषयमा मनाइयो

0

धरान । ‘वातावरण, जैवमण्डल र जैविक विविधताको संरक्षण’ भन्ने विषयवस्तुका साथ यस वर्षको विश्व जैवनीतिशास्त्र दिवस–२०२५ (अक्टोबर १९) नेपालभर विविध कार्यक्रमसहित मनाइएको छ। जैवनीतिशास्त्र र मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १७ मा आधारित यस वर्षको दिवसले मानव अस्तित्व, कल्याण र विकासका लागि वातावरणीय संरक्षणको अपरिहार्यता औंल्याएको छ।

नेपाल बायोएथिक्स युनिटको आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरानमा अक्टोबर ३१ गते समापन समारोह सम्पन्न गरिएको थियो। नेपाल एकाइ प्रमुख प्रा. डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी अनिशा गिरी र क्रिस्टिना राईले सञ्चालन गरेका थिए।

मुख्य मन्तव्यमा प्रा. डा. धनरत्न शाक्यले जैविक विविधता र जैवमण्डलको संरक्षण मानव अस्तित्व र विकासका लागि अनिवार्य भएकाले सबैले आफ्नो–आफ्नो क्षेत्रमा वकालत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जैविक नैतिकतासम्बन्धी छलफल, प्रशिक्षण र अनुसन्धानलाई अझ प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा प्रा. डा. सरुन कोइरालाले स्वास्थ्य विज्ञान र शैक्षिक दृष्टिकोण, डा. अशोक अय्यरले दन्त स्वास्थ्य दृष्टिकोण, र खेम सुवेदीले सार्वजनिक तथा कानूनी दृष्टिकोणबाट विषय प्रस्तुत गरे। बायोएथिक्स शाखाका विद्यार्थी सदस्य समिप घिमिरेले विषयवस्तुमा प्रस्तुति दिएका थिए।

प्रतियोगितात्मक कार्यक्रमहरूमा फोटोग्राफीतर्फ प्रा. डा. रवि श्रेष्ठ, प्रा. डा. सरुन कोइराला, डा. अशोक अय्यर, मिस सुरज शाक्य, मिस सम्पदा धिमाल र सुदिन भुसाल विजेता घोषित भए। आर्ट पोस्टर प्रतियोगितामा उज्ज्वल ठाकुर र मिस सुरज शाक्य विजयी बने भने विज्ञान पोस्टरमा प्रशान्त सापकोटाले प्रथम स्थान प्राप्त गरे। कविता प्रतियोगितामा जीवन भुजेल विजेता बने।

कार्यक्रमका निर्णायकमा प्रा. डा. धनरत्न शाक्य, प्रा. डा. रवि श्रेष्ठ, प्रा. डा. सरुन कोइराला, डा. अशोक अय्यर र डा. किशोर गुरुङ रहेका थिए।

नेपाल सन् २०१३ मा बायोएथिक्सको विश्वव्यापी नेटवर्कमा आवद्ध भएको हो र सन् २०१६ देखि नियमित रूपमा विश्व जैवनीतिशास्त्र दिवस मनाउँदै आएको छ। अन्तर्राष्ट्रिय बायोएथिक्स परिषद्को नेतृत्वले विश्वभर बायोएथिक्ससम्बन्धी शिक्षण, प्रशिक्षण र अनुसन्धानमा निरन्तर जोड दिँदै आएको छ।

–नेपाल बायोएथिक्स युनिट, धरान

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top