भक्तपुर। चाँगुनारायण नगरपालिकाले आर्थीक वर्ष २०८२/०८३ का लागि नगरभित्रका सामुदायिक विद्यालयहरूलाई १६ थरीका अनुदान प्रदान गर्ने भएको छ। नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार तोकिएका शीर्षकमा विद्यालयहरूले कार्ययोजना सहित १५ दिनभित्र अनुदान माग गर्न सक्ने शिक्षा शाखाले जनाएको छ।
नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार विद्यालय सञ्चालन तथा व्यवस्थापनदेखि लिएर शैक्षिक गुणस्तर सुदृढीकरणसम्मका विभिन्न कार्यक्रमका लागि अनुदान वितरण गरिनेछ।
अनुदानका शीर्षकहरूमा विद्यालय सञ्चालन तथा व्यवस्थापन, विद्यालय सुधार योजना, अभिभावक शिक्षा र अतिरिक्त क्रियाकलाप, आर्थिक तथा सामाजिक लेखा परीक्षण र बुलेटिन प्रकाशन, इन्टरनेट व्यवस्थापन, प्रारम्भिक बाल विकास कक्षा, विद्यार्थी मूल्याङ्कन (पोर्टफोलियोसहित), शिक्षण–सिकाइ सामग्री र पुस्तक कुनामा (Book Corner) स्थापना, छात्रा, दलित, लक्षित समूह र अपाङ्ग विद्यार्थीका छात्रवृत्ति, विद्यालय भौतिक पूर्वाधार निर्माण तथा मर्मत, पुस्तकालय, विज्ञान प्रयोगशाला, र ICT ल्याबजस्ता गुणस्तर सुदृढीकरण कार्यक्रमहरू समावेश छन्।
अनुदान रकम तहअनुसार फरक–फरक तोकिएको छ। कक्षा १–५ का लागि विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान रु. १५ हजार, कक्षा १–८ का लागि रु. २० हजार, कक्षा १–१० का लागि रु. २५ हजार र कक्षा १–१२ का लागि रु. ३० हजार तोकिएको छ। इन्टरनेट व्यवस्थापनका लागि वार्षिक रु. १२ हजारदेखि २० हजारसम्म र शिक्षण–सिकाइ सामग्रीका लागि प्रति विद्यार्थी रु. १५० देखि रु. २५० सम्म सहयोग उपलब्ध गराइनेछ।
छात्रा, दलित, लक्षित समूह र अपाङ्ग विद्यार्थीका लागि छुट्टाछुट्टै छात्रवृत्ति पनि प्रदान गरिने नगरपालिकाले जनाएको छ। विशेषगरी अपाङ्ग विद्यार्थीका छात्रवृत्तिका लागि अपाङ्गता परिचयपत्र, तस्बिर र घरधनी सिफारिस अनिवार्य रहेको सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाले अनुदान माग गर्दा आवश्यक कागजात, कार्ययोजना र विद्यार्थी विवरण संलग्न गर्न विद्यालयहरूलाई आग्रह गरेको छ। यद्यपि, हरेक वर्ष यस्ता अनुदान वितरण भए पनि शैक्षिक गुणस्तरमा सन्तोषजनक सुधार नदेखिएको शैक्षिक सरोकारवालाहरूको भनाइ छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
