भक्तपुर कप यस वर्ष नहुने, भक्तपुर युवा टीम सी–डिभिजन क्वालिफायरमा सहभागी

0


भक्तपुर । लगातार तीन वर्षसम्म ‘भक्तपुर कप फुटबल’ आयोजना गर्दै आएको भक्तपुर युवा टीमले यस वर्ष भने प्रतियोगिता नगर्ने भएको छ । यसको सट्टा टोली पहिलोपटक अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजना हुने सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा सहभागी हुँदै मैदानमा उत्रिने तयारीमा छ ।

टोलीका खेलाडीले लामो समयदेखि अभ्यास गरिरहेको र नयाँ स्तरको प्रतियोगितामा सहभागी भई महत्वपूर्ण अनुभव हासिल गर्ने विश्वास गरिएको छ । सी–डिभिजन क्वालिफायरमा देशभरका ३९ क्लबको सहभागिता रहनेछ र भक्तपुर युवा टीम पनि प्रतिस्पर्धी टोलीमध्ये एक हो ।

जर्सी सार्वजनिक

भक्तपुरमा आयोजित एक कार्यक्रममार्फत टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । जर्सी संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका–७ का वडा अध्यक्ष तथा सल्लाहकार उकेश कवां, र टिम अध्यक्ष केशब त्वानाबासूले संयुक्त रूपमा सार्वजनिक गरे । सोही अवसरमा प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जर्सी हस्तान्तरण गरिएको थियो ।

टोलीको उद्देश्य र गतिविधि

वि.सं. २०५० मा स्थापना भएको भक्तपुर युवा टीम ‘मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित निरन्तर खेलकुद विकासमा सक्रिय रहँदै आएको छ । टीमले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तथा अम्पायर उत्पादन गर्न सफल भएको बताउँछ ।

टीमले २०७८, २०७९ र २०८० मा क्रमशः प्रथम, द्वितीय र तृतीय भक्तपुर कप महेश्वरी खेलमैदानमा सम्पन्न गराएको थियो । तर यस वर्ष टोलीले नयाँ अनुभव एवं फरक पहिचान बनाउन सी–डिभिजन स्तरको प्रतियोगिता रोजेको जनाएको छ ।

आगामी खेल गतिविधि तथा सहभागिताका लागि आवश्यक आर्थिक, भौतिक र नैतिक सहयोगप्रति आह्वान गर्दै टोलीले विगतमा सहयोग गर्ने विभिन्न संस्था, सञ्चारमाध्यम, उद्योग, विद्यालय, व्यक्तित्व तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनमा पनि उस्तै सहयोगको अपेक्षा गरिएको छ ।

भक्तपुर युवा टिमका पदाधिकारीले टोलीको विकास, प्रचार–प्रसार र सफलताका लागि खेलाडीले मैदानभित्र तथा बाहिर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top