मध्यपुर थिमि । विनायक शिक्षा निकेतनले स्थानीय पाठ्यक्रमअनुसार विद्यार्थीलाई स्थानीय संस्कृति तथा चाड–पर्वको व्यवहारिक ज्ञान दिन उद्देश्यसहित ‘योमरी महोत्सव तथा शैक्षिक प्रदर्शनी’ सम्पन्न गरेको छ । महोत्सवबारे जानकारी दिंदै प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयले विद्यार्थीलाई केवल पुस्तकमा सीमित नराखी संस्कृति, परम्परा र व्यवहारिक सीपसँग जोड्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्दै आएको बताए ।
नेवार समुदायमा धाने पूर्णिमाका दिन मनाइने ‘योमरी पुन्ही’ विशेष पर्व हो, जसअन्तर्गत चामलको पिठोबाट बनाइने परम्परागत परिकार योमरी तयार गरी धनका देवता कुबेरको पूजा गरेर परिवारका सदस्यहरू मिलेर खाने चलन रहिआएको छ । यही सांस्कृतिक महत्वलाई विद्यार्थीसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने उद्देश्यले विद्यालयले महोत्सव आयोजना गरेको हो ।
स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षासँगै विविध शैक्षिक गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको विद्यालयले यस वर्ष पनि विद्यार्थीले आफैं तयार गरेका शैक्षिक सामग्रीहरूको प्रदर्शनीसमेत गरेको प्रिन्सिपल प्रजापतिले बताए । उनका अनुसार विद्यार्थीले पठनपाठनका साथै आवश्यक शिक्षण सामग्री स्वयं उत्पादन गरी सिकाइलाई अझ सहज र प्रभावकारी बनाइरहेका छन् ।
कार्यक्रम अवलोकनका लागि अभिभावक, शुभेच्छुक, विद्यार्थी तथा शिक्षकको उल्लेखनीय सहभागिता रहेको थियो । अभिभावकहरूले विद्यार्थीको सीप तथा शैक्षिक विकासमा सहयोग पुग्ने यस्ता गतिविधिप्रति बढ्दो चासो देखाइरहेको पनि प्रिन्सिपल प्रजापतिले उल्लेख गरे ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
