बास नेपाल रजत वर्ष समारोह भव्यताका साथ सम्पन्न

0

नेपालगञ्ज । भ्रष्टाचार विरुद्ध क्रियाशील संस्था बास नेपाल २६औं वर्षमा प्रवेशसँगै रजत वर्ष समारोह नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ। २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको अध्यक्षता बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गर्नुभएको समारोहमा मन्त्री भण्डारीले सुशासन प्रवर्द्धनलाई प्रत्येक नागरिकले सामाजिक उत्तरदायित्वका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो। भ्रष्टाचारविरुद्ध चलिरहेको बास नेपालको अभियानले युवामा जागरण ल्याएको उल्लेख गर्दै उहाँले सुशासन स्थापानामा सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले बास नेपाल ७ प्रदेशका ७७ जिल्लामा फैलिएको सञ्जालले स्थानीय तहसम्म सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।

त्यसैगरी सञ्चारकर्मी तथा सुशासन अभियन्ता तारानाथ दाहालले विचलित भइरहेका राज्य संयन्त्रलाई सुधारतर्फ फर्काउन बास नेपाल जस्ता संस्थाहरू महत्वपूर्ण थलो भएको टिप्पणी गर्नुभयो। भ्रष्टाचारविरुद्धका अभियन्ता केदार खड्काले बास नेपालले २५ वर्षमा राष्ट्रिय पहिचान निर्माण गर्न सफल भएको बताउँदै आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

रजत समारोहमा भ्रष्टाचारविरुद्ध नागरिक सम्मान–२०८२ सूचनाको हकका प्रबल अभियन्ता तारानाथ दाहाललाई प्रदान गरिएको छ। सूचनाको हक प्रवर्द्धनमार्फत भ्रष्टाचार नियन्त्रणमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा संस्थाका अध्यक्षले दाहाललाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सामाजिक उत्तरदायित्व सम्मान अन्तर्गत शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, कला–संस्कृति, वातावरण, दुर्घटना न्यूनीकरण तथा महिला–मधेशी समुदाय उत्थानमा योगदान पु-याउने दर्जनौँ व्यक्तिहरूलाई सम्मान गरिएको छ। सम्मान प्राप्त गर्नेमा शिक्षक विजय लामा, चिकित्सक डा. एम. किदवाई, साहित्यकार सनत रेग्मी, वरिष्ठ पत्रकार झलक गैरे, कलाकार कमल बिके निर्मोही, वातावरण अभियन्ता रविन्द्र लामिछाने, सामाजिक अभियन्ता मैमुना सिद्धिकी, शिव वास्ताकोटी, चक्रबहादुर चन्द, तेजविक्रम शाहलगायत रहेका छन्।

यसै अवसरमा पूर्व सूचना आयुक्त कृष्णहरी बास्कोटाद्वारा लिखित पुस्तक *‘खुसीको गारेतो’*लाई पनि ‘प्रेरणादायी कृति’का रूपमा सम्मान गरिएको थियो। बास नेपाल केन्द्रीय कार्यालयका शुद्धप्रसाद चौधरी (प्रशासकीय अधिकृत) र मिना घर्ती मगर (प्रशासन सहायक)लाई ‘उत्कृष्ट वर्ष कर्मचारी–२०८२’ घोषित गरियो। उत्कृष्ट शाखा तर्फ दैलेख शाखाले नगद १० हजारसहित पहिलो स्थान प्राप्त गर्‍यो। दोस्रो, तेस्रो र सान्त्वनामा क्रमशः बाँके, बर्दिया र दार्चुला शाखा परे।

स्वयम्‌सेवक सम्मानमा पुरुषतर्फ चन्द्रप्रसाद जैसी र महिलातर्फ संगिता बिकलाई ‘उत्कृष्ट स्वयम्‌सेवक–२०८२’ घोषित गरियो। यस्तै, राष्ट्रिय स्तरमा प्रदान गरिने इनोभेटिभ राष्ट्रिय युवा स्वयम्‌सेवक पुरस्कार यस वर्ष बर्दियाका नारायण अधिकारीले हात पार्नुभयो। विभिन्न चरण पार गर्दै १० प्रतिस्पर्धीलाई उछिन्दै अधिकारीले ट्रफी, दोसल्ला र नगद ५० हजार प्राप्त गर्नुभयो।

समारोहमा कर्मचारी मिना घर्ती मगर, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा बिकीको सांस्कृतिक प्रस्तुति आकर्षण बनेको थियो। कार्यक्रममा ३५० भन्दा बढी सहभागीको उपस्थिति रहेको संस्थाले जनाएको छ। सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्धको अभियानलाई अघि बढाउँदै बास नेपालले आगामी दिनमा अझ सबल भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै रजत वर्ष समारोह सम्पन्न भएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top