मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथाम सम्बन्धी अन्तक्रिया सम्पन्न

0



भक्तपुर । मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथामलाई लक्षित गर्दै सञ्चारकर्मीहरूका लागि संवेदनशील रिपोर्टिङ विषयक अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको महत्वपूर्ण अंगका रूपमा जोड दिँदै बढ्दो मानसिक समस्याप्रति चिन्ता व्यक्त गरिएको थियो।

कार्यक्रममा भक्तपुर अस्पतालकी डा. योजना शाक्यले आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक, प्रमाणित र विश्वसनीय स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिइन्। “गलत सूचना र भ्रमपूर्ण सामग्रीले नकल आत्महत्याको जोखिम बढाउन सक्छ, त्यसैले सञ्चारकर्मी थप जिम्मेवार हुन आवश्यक छ,” उनले भनिन्।

कार्यालय प्रमुख अन्जनी खड्काले मानसिक स्वास्थ्य संरक्षण र आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले विशेषज्ञ र सम्बन्धित संस्थासँग समन्वय गरेर मात्र यस्ता विषयमा समाचार तयार पार्न आग्रह गरे। साथै, आत्महत्या सम्बन्धी समाचारको अन्त्यमा २४सै घण्टा उपलब्ध राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ अनिवार्य रूपमा समावेश गर्न सुझाव दिइयो।

कार्यक्रममा बोल्ने वक्ताहरूले तनाव, डिप्रेसन, चिन्ता, सामाजिक तथा आर्थिक दबाबका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको औंल्याए। मानसिक स्वास्थ्य सुदृढ बनाउन सकारात्मक सोच, नियमित व्यायाम, योग तथा ध्यान, पर्याप्त निद्रा र सन्तुलित आहार आवश्यक रहेकोमा जोड दिइयो। सामाजिक सम्बन्ध सुदृढ बनाउनुका साथै आवश्यक परे मनोपरामर्श सेवा लिन पनि सुझाव दिइएको थियो।

अन्तक्रियामा आत्महत्या एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गर्दै समयमै पहिचान र उचित सहयोगमार्फत यसलाई रोक्न सकिने बताइयो। डिप्रेसन, अत्यधिक तनाव, एक्लोपन, नशालु पदार्थको दुरुपयोग तथा विगतका प्रयासहरू प्रमुख जोखिम कारकका रूपमा चिनाइएको थियो। सहभागीहरूले परिवार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य तथा खुला संवाद आवश्यक रहेकोमा जोड दिए।

त्यसैगरी, “मेरो स्वास्थ्य मेरो जिम्मेवारीः एक घण्टा मेरो लागि” अभियानबारे पनि चर्चा गरिएको थियो। दैनिक व्यस्त जीवनशैलीका बीच कम्तीमा एक घण्टा समय आफ्नै शारीरिक तथा मानसिक स्वास्थ्यका लागि छुट्याउनुपर्नेमा जोड दिइयो। सो समयमा ध्यान, योग, हिँडडुल, अध्ययन, संगीत सुन्ने वा डिजिटल डिटक्स जस्ता गतिविधि उपयोगी हुने बताइएको छ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकार आचारसंहिताको पालना गर्दै संवेदनशील विषयमा जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताए। उनले यस्ता कार्यक्रमले सञ्चारकर्मीलाई थप सचेत र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी खुला संवादलाई प्रोत्साहन गर्नुका साथै समाजमा रहेका मिथक र भ्रम हटाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्। निष्कर्षमा, व्यक्तिगत जिम्मेवारी, समुदायको सहयोग र मिडियाको संवेदनशील भूमिकामार्फत आत्महत्या न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top