सूर्यविनायक सिपाडोलमा नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन

0


भक्तपुर  — सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको भव्य रूपमा उद्घाटन गरिएको छ। स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त भवन एक विशेष समारोहबीच सञ्चालनमा ल्याइएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा तथा विशेष अतिथि सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले संयुक्त रूपमा रिबन काटेर भवन उद्घाटन गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै वडावासी नागरिकप्रति आभार व्यक्त गरे। उनले सिपाडोल स्वास्थ्य चौकी भवन निर्माणका लागि नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए। साथै, नगरपालिकाले अब विकासका बाँकी कामहरूलाई तीव्रता दिने र नागरिकका समस्या तथा गुनासालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

उनले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा निरन्तर लगानी गरिने बताए। आगामी दिनमा आवश्यक उपकरण तथा जनशक्ति थप गर्दै सेवा अझ प्रभावकारी बनाइने पनि उनले स्पष्ट पारे।

त्यसैगरी, स्वास्थ्य मन्त्री किरण थापाले नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै आफ्नै पहलमा उक्त स्वास्थ्य चौकी निर्माण सम्भव भएको स्मरण गरे। उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्दै प्रदेश सरकारबाट बजेट विनियोजनपछि भवन निर्माण सम्पन्न भएको जानकारी दिए।

कार्यक्रममा उप–प्रमुख सरिता तिमिल्सिना भट्टराईले नयाँ भवन सञ्चालनसँगै वडा नं. ८ का नागरिकले सस्तो, छिटो र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। उनले विशेषगरी महिलाका लागि पाठेघरको क्यान्सर तथा अन्य स्त्रीरोग सम्बन्धी जाँच सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको जानकारी दिइन्।

कार्यक्रमको समापन गर्दै वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्दै नागरिकको सेवामा सदैव प्रतिबद्ध रहने बताए। उनले पूर्वाधार विकास आजको आवश्यकता भएको उल्लेख गर्दै सबैको सहकार्यबाट परियोजना सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गरे।

उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवामा सुधारको अपेक्षा

यसअघि साँघुरो स्थानबाट सेवा दिँदै आएको सिपाडोल स्वास्थ्य चौकी अब आफ्नै फराकिलो र सुविधासम्पन्न भवनमा सरेसँगै स्थानीय नागरिकहरू उत्साहित भएका छन्। नयाँ संरचनाबाट प्राथमिक उपचार, खोप सेवा तथा परामर्श सेवा अझ व्यवस्थित रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

यससँगै सामान्य स्वास्थ्य समस्याका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top