काठमाडौं — ‘सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार’ भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (ICT) दिवस मनाइएको छ। प्रत्येक वर्ष मे २ मा मनाइने यस दिवसले नेपालमा डिजिटल रूपान्तरणको प्रगति, चुनौती र सम्भावनाबारे व्यापक छलफलको अवसर प्रदान गरेको छ।
नेपालमा कम्प्युटर प्रविधिको औपचारिक सुरुवात सन् १९७१ (वि.सं. २०२८) मा जनगणनाका लागि पहिलोपटक कम्प्युटर प्रयोग गरिएको ऐतिहासिक घटनासँग जोडिएको छ। सोही सन्दर्भ र क्यान महासंघको स्थापना अवधिलाई आधार मानी यो दिवस मनाउन थालिएको हो। पछिल्ला वर्षहरूमा सरकारी तहबाट समेत औपचारिक रूपमा मनाउन थालिएपछि यसको महत्व अझ बढेको छ। अप्रिल २४ देखि सुरु हुने ‘आइसिटी सप्ताह’ अन्तर्गत देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।
विगत दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपालले उल्लेखनीय फड्को मारेको छ। दैनिक जीवनशैलीमा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढेको छ। अनलाइन बैंकिङ, इ–कमर्स, टेलिमेडिसिन र भर्चुअल शिक्षा अहिले सर्वसाधारणका लागि आवश्यक सेवाका रूपमा स्थापित भइसकेका छन्। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (AI), रोबोटिक्स र स्मार्ट उपकरणहरूको प्रयोगले नेपाललाई विश्व प्रविधि प्रवाहसँग नजिक ल्याएको छ।
सूचना प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार, यस क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सम्भावना बोकेको छ। सफ्टवेयर विकास र निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि बढ्दो क्रममा रहेको बताइन्छ।
यसैबीच, प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र लगानी विस्तार अपरिहार्य रहेको सरोकारवालाहरूले औंल्याएका छन्। सूचना प्रविधि विज्ञहरूले ‘राष्ट्रिय एआई नीति २०२६’ र ‘ई–कमर्स निर्देशिका २०८२’ जस्ता नीतिगत पहलहरूले डिजिटल नेपालको मार्गचित्र तय गर्न सहयोग पुग्ने बताएका छन्। साथै, दक्ष जनशक्ति विदेश पलायन हुन नदिन देशमै ‘टेक हब’ विकास र स्टार्टअप प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रविधिको विस्तारसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको भन्दै सम्बन्धित निकायहरूले सचेत रहन आग्रह गरेका छन्। व्यक्तिगत गोपनीयता र डाटा सुरक्षाका लागि बलियो संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय तहदेखि नै साइबर सुरक्षासम्बन्धी शिक्षा अनिवार्य बनाउनुपर्ने सुझाव दिइएको छ।
सरकारी तथा निजी क्षेत्रबीच सहकार्य (PPP मोडेल) मार्फत डिजिटल पूर्वाधार सुदृढ गर्दै सन् २०३० सम्म नेपाललाई दक्षिण एसियाकै प्रविधि निर्यात गर्ने प्रमुख राष्ट्र बनाउने लक्ष्य लिइएको छ।
आजको ICT दिवसले प्रविधिको सही प्रयोगमार्फत समृद्ध, सुशासित र डिजिटल नेपाल निर्माणतर्फ अघि बढ्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
