चाँगुनारायण अब देशकै पहिलो “योग नगर” बन्ने

0


जेष्ठ १० गते मुख्यमन्त्रीको उपस्थितिमा ऐतिहासिक घोषणा गरिने


भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पुरातात्त्विक नगर चाँगुनारायण अब “योग नगर” का रूपमा परिचित हुने भएको छ। चाँगुनारायण नगरपालिकाले नगरलाई आधिकारिक रूपमा “योग नगर” घोषणा गर्ने निर्णय सार्वजनिक गर्दै मंगलबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन आयोजना गरेको हो।

नगर प्रमुख जीवन खत्रीले पत्रकार सम्मेलनमार्फत आगामी जेष्ठ १० गते वागमती प्रदेश सरकारका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा “योग नगर घोषणा” कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले उक्त अभियानलाई नगरको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक पहिचानसँग जोडिएको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

घोषणाअघि जेष्ठ ८, ९ र १० गते बिहान ५ बजेदेखि खरीपाटीस्थित विद्युत तालिम केन्द्र परिसरमा वृहत् खुला योग शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। शिविरमा नगरवासीसहित इच्छुक सर्वसाधारणको सहभागिता रहने बताइएको छ।

नगर प्रमुख खत्रीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा मानसिक तनावजस्ता नसर्ने रोगहरूको बढ्दो जोखिमलाई ध्यानमा राख्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न योग, ध्यान र प्राणायामलाई प्राथमिकतामा राखिएको हो। उनले योग अभ्यासले शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्न वैज्ञानिक रूपमा समेत प्रभावकारी साबित भइसकेको उल्लेख गरे।

“हजारौँ वर्ष पुरानो वैदिक सभ्यता र आध्यात्मिक चेतनाको भूमि चाँगुनारायणलाई योग र साधनाको केन्द्र बनाउनु हाम्रो इतिहास र पहिचानसँग जोडिएको स्वाभाविक निरन्तरता हो,” नगर प्रमुख खत्रीले भने।

नगरपालिकाले आगामी दिनमा सबै वडामा नियमित योग शिविर सञ्चालन गर्ने, विद्यालयस्तरमा योग शिक्षालाई अनिवार्य बनाउने, स्थानीय तहमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने तथा योग पार्क र ध्यान केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ। साथै आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गरी अभियानलाई थप प्रभावकारी बनाइने जनाइएको छ।

नगरपालिकाका अनुसार “योग नगर” अभियान स्वास्थ्य प्रवर्द्धनमा मात्र सीमित रहने छैन। आध्यात्मिक पर्यटनको विकास, स्थानीय रोजगारी सिर्जना, होमस्टे प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्दै चाँगुनारायणको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले कार्यक्रम सहजीकरण गरेका थिए। कार्यक्रममा शिक्षा शाखाका निर्देशक जर्नादन रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, वागमती प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेलगायतको उपस्थिति रहेको थियो।

“पहिलो सुख निरोगी काया” भन्ने मौलिक जीवनदर्शनलाई व्यवहारमा उतार्दै चाँगुनारायणलाई देशकै नमुना “योग नगर” बनाउने अभियान जेष्ठ १० गतेदेखि औपचारिक रूपमा प्रारम्भ हुने नगरपालिकाले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top