“नेवाः समुदायका परम्परागत मुकुण्डोनाच” कृति लोकार्पण

0

काठमाडौं । नृत्य संस्कृतिको अनुसन्धानमा जीवन समर्पित गरेकी नृत्यकलाविद् वीणा जोशी (राजभण्डारी) द्वारा लिखित ‘नेवाः समुदायका परम्परागत मुकुण्डोनाच’ नामक पुस्तक सार्वजनिक गरिएको छ। यल नेवाः समाजको आयोजनामा आइतबार काठमाडौँमा सम्पन्न कार्यक्रममा झण्डै १५ सय पृष्ठको उक्त कृतिको लोकार्पण गरिएको हो।

पुस्तकलाई लेखककी सय वर्षीया आमा गङ्गादेवी राजभण्डारीसँगै उपत्यकाका विभिन्न जातीय तथा परम्परागत नृत्य परम्परासँग सम्बन्धित १५ जना नेवाः गुरुहरूले संयुक्त रूपमा सार्वजनिक गरेका थिए। कार्यक्रममा ङ्यत भुलु अजिमाका मुलगुरु देवकृष्ण महर्जन, किलागल देवीनाचका मुलगुरु ब्रम्हु महर्जन, सिकाली प्याखंका मुलगुरु महन्तलाल डंगोल, जल प्याखंका मुलगुरु धनबहादुर महर्जन, इन्द्रायणी देवी प्याखंका गुरुहरू, चर्या नृत्यगुरुहरू, कात्तिक नाच तथा आधुनिक रंगमञ्चसँग सम्बन्धित गुरुहरूको उपस्थिति रहेको थियो।

नेवाः समुदायको लोपोन्मुख मुहाली बाजाको धुनबाट सुरु गरिएको कार्यक्रममा लेखक जोशीले गुरु वन्दना नृत्य प्रस्तुत गर्दै दिवंगत गुरु, आमन्त्रित अतिथि तथा दर्शकप्रति सम्मान व्यक्त गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखक जोशीले सुरुमा नेपालका सबै जातजातिको नृत्य संस्कृतिमाथि अध्ययन गर्ने योजना भए पनि त्यसलाई सम्भव बनाउन नसकिएपछि आफ्नो अनुसन्धानलाई नेवाः समुदायको मुकुण्डोनाचमा केन्द्रित गरेको बताइन्। उनले नेवाः समुदायको नृत्य परम्परा केवल मनोरञ्जनमा सीमित नभई सभ्यता, आस्था, मिथक, धर्म र सामुदायिक जीवनसँग जोडिएको जीवित सांस्कृतिक सम्पदा भएको उल्लेख गरिन्।

उनले पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरणपछि नृत्य परम्परामा विभिन्न आयाम थपिएको तथा २०१६ सालपछि मात्र युवतीहरूलाई नृत्यमा सहभागी हुन दिइएको ऐतिहासिक प्रसङ्ग पनि स्मरण गरिन्। नृत्यकला शारीरिक मात्र नभई मानसिक व्यायामसमेत भएको उल्लेख गर्दै उनले आफ्ना नातिनातिनाको प्रेरणाले अनुसन्धानलाई पुस्तकको रूप दिएको बताइन्।

८१ वर्षीया लेखक जोशीको लगनशीलता र नृत्यकला सम्बन्धी ऐतिहासिक तथा सामाजिक पक्षमाथिको अनुसन्धानात्मक योगदानको कार्यक्रममा प्रशंसा गरिएको थियो। संस्कृतिशिरोमणि हरिराम जोशी, चर्या सङ्गीतविद् यज्ञमानपति बज्राचार्य तथा प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले पुस्तकको समीक्षासहित यसको महत्वबारे प्रकाश पारेका थिए।

१७ खण्डमा विभाजित पुस्तकमा नेवार समुदायको परम्परागत मुकुण्डोनाच, चर्यानर्तन, कात्तिक नाच, देवीनाच, गथु प्याखँ, महाकालीनाच, भैरवनाच, सिकाली प्याखँ, आकाशभैरवनाच, लाखम् नाचलगायत विभिन्न नृत्य परम्पराको इतिहास, पात्र परिचय, प्रस्तुति पद्धति तथा सांस्कृतिक आयाम समेटिएका छन्। साथै भक्तपुर, कीर्तिपुर, थिमी, हलचोक तथा उपत्यकाबाहिरका केही नृत्य परम्परासमेत पुस्तकमा समावेश गरिएको छ।

वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्याय ले सञ्चालन गरेको कार्यक्रममा यल नेवाः समाजका अध्यक्ष नानुकाजी शाक्यले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा आर्यावलोकितेश्वर तथा बज्रयोगिनी चर्यानृत्य, भैल प्याखँ र नागाचा प्याखँलगायत सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top