मौलिक खानाको व्यावसायीकरणमा जोड

0

नेवारी परिकार तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर को आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको १० दिने नेवारी परिकार बनाउने तालिम सम्पन्न भएको छ। कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ को समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिमको समापन समारोहमा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ले गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै कार्यालय प्रमुख कुस्माले आधुनिक तथा आयातित खाना र खाजाका कारण नेपाली मौलिक तथा स्वास्थ्यवर्द्धक परिकार क्रमशः लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेवारी परिकार नेपाली समुदायसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ समेत लोकप्रिय रहेको उल्लेख गर्दै यसको व्यावसायिक प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो।

उहाँले तालिम केवल सीप विकासमा सीमित नभई प्रशिक्षार्थीलाई उद्यमशीलतामा अग्रसर गराउने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पार्दै नयाँ व्यवसाय दर्ता तथा सञ्चालनका लागि कार्यालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ का केन्द्रीय सदस्य विरेन्द्र जति ले तालिमबाट प्राप्त सीपलाई आर्थिक उपार्जनसँग जोड्न सके व्यक्ति, समाज र राष्ट्रको कुल गार्हस्थ्य उत्पादन (GDP) मा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजा ले रैथाने नेवारी परिकारलाई समयअनुकूल “फ्युजन” शैलीमा प्रस्तुत गर्दै ग्राहक आकर्षित गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले संघ उद्यमी तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि निरन्तर सक्रिय रहेको पनि बताउनुभयो।

तालिमका मुख्य प्रशिक्षक सुनिल सुवाल ले परिकारको स्वादसँगै गुणस्तरलाई दीर्घकालसम्म कसरी कायम राख्न सकिन्छ भन्ने विषयमा प्राविधिक जानकारी दिनुभएको थियो।

कार्यक्रममा महिला उद्यमी समितिकी सभापति कमलश्वरी खर्बुजा तथा संघकी सह–सचिव सुमित्रा श्रेष्ठ ले महिला उद्यमशीलताको प्रवर्द्धन तथा उत्थानका लागि संघले सञ्चालन गर्दै आएका कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।

स्थानीय मौलिक संस्कृति संरक्षण, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा २५ जना स्थानीय महिला तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top