कम्पनीका अनुसार प्रयोगात्मक च्यानलमार्फत सुरु हुने नयाँ अपडेटमा प्रयोगकर्ताले स्टार्ट मेनुको आकार आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन् । यसअघि ठूलो स्टार्ट मेनु मन नपरेका प्रयोगकर्ताले अब सानो वा ठूलो संस्करणमध्ये आफूलाई उपयुक्त विकल्प चयन गर्न पाउनेछन् ।
स्टार्ट मेनुको सेटिङमार्फत प्रयोगकर्ताले आफूले चाहेको आकार चयन गर्न सक्ने व्यवस्था गरिएको छ । प्रयोगकर्ताको छनोट सबै डिस्प्लेमा समान रूपमा लागू हुनेछ । यसअघि गत वर्ष नोभेम्बरमा आएको अपडेटपछि स्टार्ट मेनुको आकार लगभग दोब्बर भएको विषयमा प्रयोगकर्ताबाट प्रतिक्रिया आएको थियो ।
नयाँ अपडेटमा ‘पिन्ड’, ‘रेकमेन्डेड’ र ‘अल’ सेक्सनका लागि छुट्टाछुट्टै टगल सुविधा पनि समावेश गरिएको छ । यसमार्फत प्रयोगकर्ताले आवश्यकताअनुसार स्टार्ट मेनुका विभिन्न भाग देखाउन वा लुकाउन सक्नेछन् । उदाहरणका लागि, ‘रेकमेन्डेड’ र ‘अल’ विकल्प बन्द गरेमा प्रयोगकर्ताले केवल पिन गरिएका एपहरू मात्र देख्नेछन् ।
त्यसैगरी, फाइल सिफारिसका लागि छुट्टै नियन्त्रण सुविधा पनि थपिने भएको छ । यसले प्रयोगकर्तालाई स्टार्ट मेनुमा मात्र फाइल सिफारिस बन्द गर्ने विकल्प दिनेछ । साथै, स्क्रिन सेयर वा लाइभ स्ट्रिमिङका बेला गोपनीयता सुरक्षित गर्न प्रयोगकर्ताको नाम र प्रोफाइल तस्वीर लुकाउने सुविधा पनि उपलब्ध गराइनेछ ।
Microsoft ले टास्कबारलाई स्क्रिनको माथि, तल, दायाँ वा बायाँ कुनै पनि किनारामा राख्न सकिने सुविधा पनि परीक्षण गरिरहेको छ । प्रयोगकर्ताले आइकनलाई बायाँतर्फ वा केन्द्रमा राख्ने विकल्प समेत चयन गर्न सक्नेछन् ।
विन्डोज इनसाइडर कार्यक्रममा सहभागी हुन प्रयोगकर्ताले आफ्नो माइक्रोसफ्ट खातामार्फत दर्ता गर्नुपर्ने हुन्छ । कार्यक्रममा सहभागी इनसाइडरहरूले कम्पनीले परीक्षण गरिरहेका नयाँ विन्डोज फिचरहरू समयअघि नै प्रयोग गर्न पाउनेछन् । साथै, ती सुविधाबारे प्रतिक्रिया पठाएर अन्तिम सार्वजनिक संस्करण सुधार गर्न सहयोग गर्न सक्नेछन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
