चाँगुनारायण देशकै पहिलो ‘योग नगर’ घोषणा

0

स्मारिका विमोचनसँगै सामूहिक योग साधनाद्वारा ऐतिहासिक कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले समृद्ध चाँगुनारायण नगरपालिकालाई औपचारिक रूपमा देशकै पहिलो ‘योग नगर’ घोषणा गरिएको छ। वडा नं. ७ स्थित विद्युत तालिम केन्द्र, खरीपाटीमा आयोजित विशेष समारोहमा वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले घोषणा–पत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योग नगर’ घोषणा गरेको हो।

कार्यक्रममा बोल्दै वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले ‘योग नगर’ को पहिचानले चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले योग नगर अवधारणालाई संस्थागत गर्न प्रशासनिक तथा प्राविधिक सहयोग रहने प्रतिबद्धता जनाएकाे थियाे।

चाँगुनारायण नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व नगरप्रमुख जीवन खत्रीले गरेको थियो। कार्यक्रममा ‘चाँगु योग ज्योति सन्देश’ नामक स्मारिकाको समेत विमोचन गरिएको थियो।  पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले उपस्थित अतिथि, जनप्रतिनिधि तथा साधकहरूलाई योग अभ्यास गराउँदै कार्यक्रमको उर्जावान् शुभारम्भ गरेको थियो। 

नगर प्रवक्ता जनक खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालन नगरपालिकाकी कर्मचारी रञ्जना सापकोटाले गरेकी थिइन्।

कार्यक्रममा विभिन्न योग तथा आध्यात्मिक संस्थाका प्रतिनिधिहरूले ‘योग नगर’ घोषणाको महत्व र यसको दीर्घकालीन प्रभावबारे धारणा राखेका थिए। पातञ्जलि योग समिति नेपालका केन्द्रीय मुख्य प्रभारी लवदेव मिश्रले योग नगरको अवधारणाले समाजलाई दुर्व्यसनमुक्त र मानसिक रूपमा स्वस्थ बनाउन सहयोग पुग्ने बताए।

कार्यक्रमको समापन गर्दै नगरप्रमुख जीवन खत्रीले नगरवासीहरूको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि योगलाई प्राथमिकतामा राखिएको बताउँदै उनले ‘योग नगर’ घोषणा केवल औपचारिकतामा सीमित नरही प्रत्येक वडा र टोलसम्म योग शिक्षा तथा शिविर विस्तार गरिने दृढ संकल्प व्यक्त गरे।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top