काठमाडौं — ‘द भुटान वाच’ ले डॉ. गोविन्द रिजालको दोस्रो स्मृति दिवसको अवसर पारेर ‘भुटान डेमोक्रेसी डिजिटल आर्काइभ’ सार्वजनिक गरेको छ। भुटानमा लोकतान्त्रिक अभ्यासको निगरानी गर्ने र देशको लोकतान्त्रिक संघर्षको इतिहास अभिलेखीकरण गर्ने उद्देश्यले यो पहल अघि बढाइएको संस्थाले जनाएको छ।
वैज्ञानिक, शिक्षक, लेखक तथा ‘द भुटान जर्नल’का दीर्घकालीन सह-सम्पादक डॉ. रिजालले नै उक्त आर्काइभको अवधारणा पहिलो पटक प्रस्ताव गरेका थिए। सन् २०२४ मेमा उनको आकस्मिक निधन भए पनि उनले अघि सारेको अभियानलाई ‘द भुटान वाच’को टोलीले निरन्तरता दिएको र दुई वर्षको प्रयासपछि औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
डॉ. रिजालको निधन २०२४ मे ५ मा काठमाडौँको कीर्तिपुरमा भएको सवारी दुर्घटनामा भएको थियो। भुटानमा जन्मिएका उनी १९९० को दशकको प्रारम्भमा देश निकाला गरिएका थिए। पुनर्वासका अवसर हुँदाहुँदै पनि उनले नेपालमै बसेर समुदायसँग काम गर्ने निर्णय गरेका थिए।
धान बाली सुधार र आणविक जीवविज्ञानमा विशेषज्ञता हासिल गरेका रिजालले नेपाल र फिलिपिन्समा खाद्य सुरक्षासम्बन्धी अनुसन्धानमा योगदान दिएका थिए। शरणार्थी शिविरहरूमा शिक्षकका रूपमा उनले एक पुस्तालाई शिक्षित र प्रेरित गरेका थिए। उनका कृति ‘ए पारदेशी इन प्याराडाइज’ र ‘बेजोड बन्धा’ चर्चित छन्। निधनअघि उनी भुटानको विस्तृत इतिहास लेखनमा संलग्न थिए।
उनको स्मृतिमा ‘रिजाल मेमोरियल आर्काइभ्स’ नामक अनलाइन भण्डार पनि सञ्चालनमा रहेको छ, जहाँ उनको जीवन, काम र योगदानसम्बन्धी सामग्रीहरू संकलन गरिँदैछ। उनलाई चिन्ने सबैलाई आफ्ना सम्झना, लेख, तस्वीर तथा अन्य सामग्रीहरू उपलब्ध गराउन आह्वान गरिएको छ।
नयाँ ‘भुटान डेमोक्रेसी डिजिटल आर्काइभ’ले लोकतन्त्रसँग सम्बन्धित पाँच प्रमुख क्षेत्र—राजनीतिक बहुलवाद, समावेशिता र विविधता, न्यायपालिका र कानुनी शासन, नागरिक समाज तथा सञ्चारमाध्यम, र सुशासन—मा केन्द्रित भएर अभिलेख संकलन गर्नेछ।
आर्काइभले राजनीतिक दलहरूको गतिविधि, निर्वाचन प्रणाली, प्रतिनिधित्वको अवस्था, न्यायिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार अवस्था तथा प्रशासनिक पारदर्शितासम्बन्धी तथ्यहरू संकलन गरी सार्वजनिक गर्नेछ। साथै भुटानको लोकतान्त्रिक यात्राका ऐतिहासिक पक्षहरू—१९५०, १९८० र १९९० दशकका आन्दोलनदेखि शरणार्थी जीवन र पुनर्वास प्रक्रियासम्म—समेट्ने लक्ष्य राखिएको छ।
संस्थाका अनुसार आर्काइभ निष्पक्ष रहनेछ र कुनै धारणा वा टिप्पणी प्रस्तुत गर्ने छैन। संकलित दस्तावेज, फोटो, अभिलेख र मौखिक इतिहासहरूलाई अनुसन्धानकर्ता, विद्यार्थी र सर्वसाधारणका लागि खुला गरिनेछ।
भुटानको लोकतान्त्रिक इतिहास र वर्तमान अभ्याससँग सम्बन्धित कुनै पनि सामग्री भएका व्यक्ति तथा संस्थालाई योगदान गर्न आग्रह गरिएको छ। इच्छुकले [email protected] वा [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
