भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा प्रथम भएको छ।
नेपाल विज्ञान ओलम्पियाड (NESO) को आयोजनामा १४औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा असोज १ गते काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित विज्ञान प्रदर्शनीमा उपत्यकाका १६ विद्यालयलाई पछि पार्दै विनायक शिक्षा निकेतन प्रथम भएको हो।
प्रदर्शनीमा विनायक शिक्षा निकेतनका विद्यार्थीहरूले ‘बाढीपहिरोको रोकथाम तथा विपदबाट बच्ने उपाय’ विषयमा विज्ञानमा आधारित परियोजना प्रस्तुत गरेका थिए। वैज्ञानिक सोच, सिर्जनात्मकता र व्यावहारिक ज्ञानलाई संयोजन गरी तयार पारिएको उक्त परियोजनाले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ।
विज्ञान तथा प्रविधिको प्रयोगमार्फत विद्यार्थीमा व्यावहारिक ज्ञान र सीप विकास गर्ने उद्देश्यले विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। प्रदर्शनीमा हासिल गरेको सफलताले विद्यार्थीमा वैज्ञानिक सोच, अनुसन्धानमूलक सिकाइ, समस्या समाधान गर्ने क्षमता तथा वातावरणीय र सामाजिक समस्याप्रति जिम्मेवारीबोध विकास गर्न थप प्रोत्साहन पुगेको विद्यालयको भनाइ छ।
विद्यालयले विद्यार्थीको सिर्जनात्मकता र प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै गुणस्तरीय, सीपमूलक तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको जनाएको छ।
विज्ञान प्रदर्शनीमा प्राप्त उपलब्धिप्रति विद्यालयले सहभागी विद्यार्थी, मार्गदर्शक शिक्षक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
