भक्तपुर — भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा अवस्थित ठुली ब्रम्हायणी मन्दिर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ। नवदुर्गा गणसँग जोडिएको पौराणिक आख्यान, प्राचीन पूजा परम्परा, जात्रा तथा स्थानीय किंवदन्तीले यस क्षेत्रको धार्मिक महत्त्वलाई थप गहिरो बनाएको छ।
स्थानीय धार्मिक मान्यताअनुसार ब्रम्हायणी मन्दिर वरिपरि रहेको नवदुर्गा ज्वलः अर्थात् खाँचयुक्त जंगलमा नवदुर्गा प्रकट भई नाच्ने तथा बाटो हिँड्ने मानिसलाई ललाई–फकाई जंगलमा लगेर भोगबली लिने गर्दथे। यसका कारण तत्कालीन समयमा यहाँको जनजीवन भयावह बनेको लोककथा पाइन्छ।
तान्त्रिक आचार्यले नवदुर्गालाई कलाँलीमा राखेको किंवदन्ती
लोककथाअनुसार नालाका एक सिद्ध तान्त्रिक आचार्य भक्तपुर आउने क्रममा नवदुर्गा गणको फन्दामा परे। उनले आफूले पहिले सबै देवीगणको पूजा गर्ने र त्यसपछि मात्र भोगबली लिने प्रस्ताव राखे। देवीगणलाई लस्करै उभ्याएर पूजा गर्ने क्रममा तान्त्रिकले मन्त्र शक्तिबाट अक्षता प्रयोग गरी देवीगणलाई सूक्ष्म रूपमा परिणत गराए।
त्यसपछि देवीगणलाई नेवार समुदायमा पूजा सामग्री राख्न प्रयोग हुने कलाँलीमा विराजमान गराई नालास्थित आफ्नो घरको गोप्य कोठामा लगेर नित्य पूजा गर्न थालेको जनविश्वास छ।
तान्त्रिक आचार्यको निधनपछि नियमित पूजा रोकिएसँगै नवदुर्गा पुनः आफ्नो पुरानै स्थानमा फर्किएर पहिलेभन्दा उग्र रूपमा मानिसको भोगबली लिन थालेको किंवदन्ती छ।
यसै क्रममा भक्तपुर इपाछें टोलका सिद्ध ब्राह्मण सोमराज संयोगवश तान्त्रिक आचार्यको घरमा पुगेपछि घटनाको रहस्य पत्ता लागेको बताइन्छ। उनले मन्त्र शक्तिद्वारा नवदुर्गा गणलाई पुनः आह्वान गरी कलाँलीमा स्थापित गरेर इपाछेंस्थित आफ्नो घरमा ल्याई नित्य पूजा गर्न थाले।
तर एक दिन सोमराजकी मठ्याहा श्रीमतीले कौतुहलतावश श्रीमान् घरमा नभएको समयमा नवदुर्गालाई राखिएको गोप्य कोठा खोलिन्। देवीगणको गोपनीयता भंग भएपछि क्रोधित भएर नवदुर्गा पुनः आफ्नो पुरानो स्थानतर्फ फर्किएको र इपाछेंको ढोकाबाट बाहिरिने क्रममा त्यहाँ बसेको सुंगुरको समेत भोगबली लिएको लोकविश्वास छ। यही घटनाका कारण नवदुर्गा गणले सुंगुरको भोगबली लिएको भन्ने जनश्रुति प्रचलित छ।
वनमालालाई तान्त्रिक नाच सिकाइएको मान्यता
नवदुर्गा पुनः जंगलमा फर्किएपछि सोमराजले अनेक अनुनय–विनय गरे पनि सुंगुरको भोगबली लिइसकेकाले देवीगणलाई पुनः फर्काउन सम्भव नभएको कथन छ। त्यसपछि नवदुर्गा गणकै आज्ञाअनुसार सबै देवीगण समेटिएको तान्त्रिक नाच वनमालाहरू अर्थात् गाथालाई सिकाएर सर्वसाधारणका अगाडि प्रस्तुत गर्ने परम्परा सुरु भएको मानिन्छ।
यससँगै मोहनी अर्थात् कालो टीका साधना तथा देव प्रतिनिधिकका रूपमा मानव शरीरमा नवदुर्गा प्रवेश गराउने परम्परा विकास भएको स्थानीय धार्मिक मान्यता छ।
भक्तपुरको गछें टोलमा नवदुर्गाको मन्दिर स्थापना गरी वनमालालाई पुजारीका रूपमा राखिएको बताइन्छ। ब्रम्हायणी मन्दिरभित्र नवदुर्गा गणको आदि पीठ रहेको विश्वास भएकाले प्रत्येक वर्ष कार्तिक शुक्ल नवमी अर्थात् जुवार नवमीको मध्यरातमा वनमालाहरू जामा लगाएर पूजासामग्रीसहित ठुली ब्रम्हायणी मन्दिरमा पुगेर विशेष पूजा तथा अनुष्ठान गर्ने परम्परा आजसम्म कायम छ।
सुडालदेखि भक्तपुरसम्म ब्रम्हायणीको धार्मिक यात्रा
स्थानीय किंवदन्तीअनुसार लिच्छवीकाल र मल्लकालबीचको कालखण्डमा राजा आनन्ददेवले सुडालको डाबु शहरबाट राजधानी भक्तपुर सारेका थिए। राजधानीको सुरक्षाका लागि शहरको अष्टकोणमा अष्टमात्रिका स्थापना गर्ने क्रममा आदि पीठबाट ब्रम्हायणीको मूर्ति खर्पनमा बोकेर ल्याइएको कथन छ।
हाल चाँगुनारायण नगरपालिका–९ र भक्तपुर नगरपालिका–८ को सिमानामा रहेको ब्रम्हायणी पीठको स्थानमा खर्पन बिसाउन खोज्दा मूर्ति शिलामा परिणत भएकाले त्यहीँ प्राणप्रतिष्ठा गरी मन्दिर निर्माण गरिएको जनश्रुति छ।
सुडालको ‘डाबु’ अर्थात् नेवारी भाषामा ‘डाबुँ’ भनिने स्थानमा मध्यकालीन समयमा शहर रहेको र राजा आनन्ददेवले त्यहीँबाट राज्य सञ्चालन गर्ने गरेको स्थानीय कथन छ। राजदरबारका भग्नावशेषमा प्रयोग भएका इँटाबाट सुडालका पुराना घर निर्माण भएको प्रमाण अझै भेटिने स्थानीयहरू बताउँछन्। सोही पुरानो शहरमा समेत ब्रम्हायणी गणको स्थापना गरिएको विश्वास गरिन्छ। अधिकारी टोल नजिकै रहेको ब्रम्हायणी मन्दिरलाई यसै परम्परासँग जोडेर हेर्ने गरिएको छ।
स्थानीय बुढापाकाहरूले सुडाल–३ मा रहेको ब्रम्हायणीलाई ‘जेठी’, सुडाल–१ मा रहेकोलाई ‘माहिली’ र चाँगुनारायण नगरपालिका–९ मा रहेको ब्रम्हायणीलाई ‘कान्छी’ ब्रम्हायणी भन्ने गरेका छन्। यी तीन ब्रम्हायणी मध्यरातमा सेतो घोडामा सवार भएर एक–अर्काको भेटघाटमा आउने गरेको किंवदन्ती पनि स्थानीय समाजमा प्रचलित छ।
प्राचीन इँटा छापिएको बाटोको अवशेष
आदि पीठ ब्रम्हायणीदेखि भक्तपुरस्थित ब्रम्हायणी पीठसम्म प्राचीन समयमा पक्की इँटा छापिएको बाटो रहेको बताइन्छ। सडक विस्तारका क्रममा उक्त संरचना अहिले देखिने अवस्थामा नरहे पनि उत्खनन गर्दा विभिन्न स्थानमा पुराना छापिएका इँटा भेटिन सक्ने स्थानीय जानकारहरूको भनाइ छ। यसलाई मन्दिर र भक्तपुरबीचको पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धको महत्वपूर्ण प्रमाणका रूपमा लिने गरिएको छ।
आदि पीठमा रहेको हालको ब्रम्हायणी मन्दिर राजमान छिपाले ढुंगा कुँदेर निर्माण गरेको जनश्रुति छ। क्षेमा पूजाका क्रममा ब्रम्हायणीले मान्छेको भोगबली मागेपछि उनले आफ्नै देब्रे हातको बूढीऔँला काटेर भोगबली चढाएको आख्यानसमेत यहाँ सुनिन्छ।
नवदुर्गा ज्वलःसँग जोडिएका विश्वास
आदि पीठ रहेको नवदुर्गा ज्वलः जंगलसँग स्थानीय समुदायका अनेक धार्मिक विश्वास जोडिएका छन्। यहाँका रुख–बिरुवा काट्न नहुने र काटेमा अनिष्ट हुने जनविश्वास छ। विसं २०२१ तिर डाबुस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको पुरानो भवन निर्माणका क्रममा सुडाल–१ निवासी रामप्रसाद सुवेदीले उक्त जंगलको रुख काट्दा रगत छादेर मृत्यु भएको स्थानीय आख्यानमा उल्लेख पाइन्छ।
त्यस्तै, जंगलका पातपतिङ्गर सोत्तरका रूपमा प्रयोग गर्न नहुने विश्वास पनि छ। त्यस्ता पातपतिङ्गर प्रयोग गरे पशुचौपायाको आँखामा समस्या आउने, आँखा फुल्ने तथा सुन्निने र बिरामी हुने जनविश्वास स्थानीय समुदायमा अझै रहेको छ।
यी विश्वासलाई धार्मिक आस्था र स्थानीय लोकपरम्पराका रूपमा लिइन्छ। यस्ता आख्यानले भने यस क्षेत्रसँग जोडिएको सांस्कृतिक स्मृतिलाई पुस्तौँदेखि जोगाउँदै आएको देखिन्छ।
१०८ शिवलिङ्गदेखि पशुपतिनाथसम्म
ठुली ब्रम्हायणी मन्दिर परिसरमा १०८ वटा शिवलिङ्गका साथै पशुपतिनाथको मन्दिरसमेत रहेको छ। शिवरात्रि, हरितालिका तीज तथा बालाचतुर्दशीको अघिल्लो दिन बेलुकादेखि रातभर दिवंगत पितृहरूको सम्झनामा दीप प्रज्वलन गर्ने परम्परा छ। भोलिपल्ट सत्बीज छर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।
मन्दिर परिसरमा निर्माण भएको कलात्मक टेराकोटा शैलीको सत्तलले समेत यसको धार्मिक तथा पुरातात्त्विक आकर्षण थपेको छ। स्थानीय धार्मिक सम्पदा, वास्तुकला र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि यो क्षेत्र महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिन्छ।
जात्रा र सांस्कृतिक परम्पराको निरन्तरता
सुडालका स्थानीय समुदायले प्रत्येक वर्ष चैत्र मसान्त र वैशाख सङ्क्रान्तिका दुई दिन बिस्केट जात्राअन्तर्गत ब्रम्हायणी जात्रा सञ्चालन गर्दै आएका छन्। ब्रम्हायणीको प्रतिमालाई रथारोहण गराई बाजागाजासहित जात्रा गरिन्छ।
त्यस्तै, सापारू अर्थात् गाईजात्राका अवसरमा तहामचा बनाई घिन्ताङघिसी नाचसहित ब्रम्हायणी मन्दिरको परिक्रमा गर्ने परम्परा पनि छ। यी जात्रा तथा नाचले धार्मिक आस्थासँगै सुडालको मौलिक नेवारी संस्कृति र सामुदायिक सहभागितालाई निरन्तरता दिइरहेका छन्।
धार्मिक आस्था, पौराणिक आख्यान, प्राचीन सम्पदा, जात्रा तथा स्थानीय सांस्कृतिक परम्पराको संगमका रूपमा रहेको ठुली ब्रम्हायणी क्षेत्र आन्तरिक पर्यटनका लागि समेत सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ। यसको संरक्षण, प्रचार–प्रसार तथा ऐतिहासिक र पुरातात्त्विक पक्षको थप अध्ययन हुन सके यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व अझ व्यापक रूपमा उजागर हुने स्थानीयको अपेक्षा छ।
स्रोत : सुडाल ब्रम्हायणी विकास समितिबाट प्रकाशित ब्रोसरमा उल्लेखित ऐतिहासिक, धार्मिक तथा स्थानीय जनश्रुति




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
