काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बा : एक योद्धा’ले काठमाडौंमा सम्पन्न प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। मंगलबार साँझ आयोजित प्रिमियरमा सहभागी चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारले चलचित्रले नेपाली समाजका धेरै परिवारको यथार्थलाई कथामार्फत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
नेपालगञ्ज, दाङ, धरान र बुटवलमा यसअघि आयोजित प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। चलचित्रले विशेषगरी सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग र संघर्ष तथा वृद्ध अवस्थामा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ।
रोजगारी, अध्ययन तथा अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढिरहेका बेला घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई चलचित्रले प्रस्तुत गरेको छ। सन्तानको भविष्य निर्माणका लागि जीवनभर संघर्ष गर्ने अभिभावक र परदेश पुगेपछि परिवार तथा अभिभावकप्रतिको जिम्मेवारीबाट टाढिँदै जाने सन्तानबीचको द्वन्द्वलाई कथामा समेटिएको छ।
प्रिमियरमा सहभागी दर्शकले चलचित्रको कथा नेपाली समाजका धेरै परिवारसँग जोडिन सक्ने प्रतिक्रिया दिएका थिए। आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने बेवास्ता, अपमान र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले चलचित्रले दर्शकलाई आफ्नै घरको कथा अनुभूति गराउन सक्ने उनीहरूको भनाइ थियो।
हरिवंश आचार्य : ‘मलाई चलचित्र राम्रो लाग्यो, रुन मन लाग्यो’
अभिनेता हरिवंश आचार्यले चलचित्र हेर्दा आफू भावुक बनेको बताए। उनले चलचित्रले आधुनिक समाजमा युवाको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको बताए।
आफूले भोगेको बुवाको समय र चलचित्रको परिवेश फरक भए पनि अहिलेको आधुनिक समाजको वास्तविकतासँग चलचित्रको कथा नजिक रहेको उनको भनाइ थियो।
“मलाई चलचित्र राम्रो लाग्यो । रुन मन लाग्यो । सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,” आचार्यले भने।
सन्तानको इच्छा पूरा गर्नु नै बुवाआमाको ठूलो चाहना हुने उल्लेख गर्दै उनले चलचित्रले यही भावनालाई एउटा बुवाको चरित्रमार्फत प्रस्तुत गरेको बताए।
आचार्यले चलचित्रमा दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको पनि प्रशंसा गरे। चलचित्रको सुरुवाती ४०–४५ मिनेट कथा विस्तारै अघि बढेजस्तो लागे पनि त्यसपछि चलचित्रले दर्शकलाई समात्दै लैजाने उनको प्रतिक्रिया थियो।
“सबै कलाकारको पर्फर्मेन्स एकदमै राम्रो छ । टेक्निक्ली पनि क्यामेरा र अरू सबै राम्रो छ । समष्टिगत रूपमा चलचित्र राम्रो लाग्यो,” उनले भने।
विशेषगरी दिव्यदेवले आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको आचार्यको भनाइ थियो। आगामी पुस्ताले पनि बुवाआमाको मन र सन्तानप्रतिको उनीहरूको त्याग बुझ्न चलचित्र हेर्नुपर्ने उनले बताए।
ओमप्रकाश अर्याल : ‘कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी’
पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले ‘बा : एक योद्धा’लाई उत्कृष्ट चलचित्रका रूपमा व्याख्या गरे। चलचित्रको कथावस्तु, प्रस्तुति र सन्देश आफूलाई प्रभावकारी लागेको उनले बताए।
उनका अनुसार चलचित्रले अहिलेको समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको प्रभावलाई प्रस्तुत गरेको छ।
“हाम्रो आफ्नो जनजीवनमा जे अवस्था छ, कथावस्तुले त्यसलाई समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,” अर्यालले भने।
परिवारभित्र छोरा–छोरी र बुहारीले आफ्नो स्वार्थलाई केही कम गर्न सके बुवाआमाले भोग्नुपर्ने धेरै समस्या नआउने उनको धारणा थियो।
चलचित्रमा असल पात्रहरूले नै दुःख र अन्याय भोग्नुपर्ने अवस्था देखाइएको भन्दै उनले त्यसलाई समाजको वास्तविकतासँग नजिक रहेको बताए। चलचित्रले पारिवारिक सम्बन्धबारे आत्मसमीक्षा गर्न प्रेरित गर्ने र समाजमा देखिएका यस्ता अवस्थाहरू परिवर्तन हुनुपर्ने उनको भनाइ थियो।
ऋचा शर्मा : ‘चलचित्रको मुख्य आकर्षण दिव्यदेव’
अभिनेत्री ऋचा शर्माले ‘बा : एक योद्धा’लाई ‘एकदमै मिठो’ चलचित्रका रूपमा प्रतिक्रिया दिइन्। उनले अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापाको अभिनयमा पनि क्रमशः निखार आउँदै गएको बताइन्।
तर चलचित्रको मुख्य आकर्षणका रूपमा उनले अभिनेता दिव्यदेवलाई उल्लेख गरिन्।
“यो सिनेमाको सुपरस्टार को हो भन्ने हामी सबैलाई थाहा छ– दिव्य देव पन्त,” उनले भनिन्, “उहाँजस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने मेरो बुझाइ हो।”
कलाकारको सहज देखिने अभिनयका पछाडि ठूलो मेहनत हुने उल्लेख गर्दै ऋचाले दिव्यदेवको अभिनयमा आफूले त्यही मेहनत देखेको बताइन्।
उनका अनुसार चलचित्रले दिव्यदेवलाई आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने राम्रो अवसर दिएको छ।
पुष्पा थिङ लामा : ‘धेरै ठाउँमा रुवायो’
चलचित्र ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि ‘बा : एक योद्धा’ले आफूलाई भावुक बनाएको बताइन्।
विशेषगरी दिव्यदेवले निर्वाह गरेको बुवाको चरित्र र चलचित्रमा आउने ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले आफूलाई निकै छोएको उनले बताइन्।
“धेरै ठाउँमा रुवायो । अझ स्पेशली ‘तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो । त्यो कस्तो निरीह अवस्था ! कसैको बुवा अथवा कसैको जिन्दगीमा त्यस्तो अवस्था नआओस् भन्ने लाग्यो,” उनले भनिन्।
सन्तानले बुवाआमाप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले चलचित्रले यही विषयलाई गम्भीर रूपमा सम्झाएको प्रतिक्रिया दिइन्।
हरि लम्सालको लेखन तथा निर्देशन
‘बा : एक योद्धा’को कथा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने व्यवहारलाई पनि चलचित्रले कथामा समेटेको निर्माण पक्षले जनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो। वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।
‘बा : एक योद्धा’ असोज ९ गते अर्थात् यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
