पञ्चांगको तिथिभन्दा फरक भक्तपुरमा भाइटिका कात्तिक २४ गते

0


भक्तपुर । सरकारले मान्यता दिएको राष्ट्रिय पञ्चांगमा भाइटिका कात्तिक २५ गते उल्लेख भए पनि भक्तपुरमा भने एक दिनअघि नै भाइटीका मनाइने भएको छ। भक्तपुर नगरपालिकाले स्थानीय तान्त्रिक परम्परा र विधिअनुसार यस वर्षको तिहारअन्तर्गतका पर्वहरूको मिति निर्धारण गरेको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीसहित सरोकारवालाबीच भएको छलफलले कात्तिक २२ गते लक्ष्मीपूजा, २३ गते म्हःपूजा र २४ गते किजापूजा (भाइटिका) मनाउने निर्णय गरेको हो।

पञ्चांग निर्णायक समितिले सिफारिस गरेको पात्रोमा कात्तिक २४ गते म्हःपूजा र २५ गते भाइटिका उल्लेख छ। तर भक्तपुरमा प्रचलित तान्त्रिक विधि, स्थानीय धार्मिक मान्यता तथा तिथिको गणनालाई आधार मानेर पर्व मनाउने मिति तय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सार्वजनिक गरेको निर्णयअनुसार कात्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ दीपावलीसहित लक्ष्मीपूजा गरिनेछ। त्यसैगरी, कात्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि सुरु हुने भएकाले साँझ म्हःपूजा मनाइनेछ।

यसैगरी, कात्तिक २४ गते मंगलबार दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ किजापूजा अर्थात् भाइटिका मनाउने निर्णय गरिएको हो।

मिति निर्धारणसम्बन्धी छलफलमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पुजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुरका निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको सहभागिता रहेको थियो।

यस निर्णयसँगै राष्ट्रिय पञ्चांगअनुसार भाइटिका मनाउने मिति र भक्तपुरको स्थानीय परम्पराअनुसार निर्धारित मितिबीच एक दिनको अन्तर देखिएको छ। यसले नेपालका विभिन्न समुदायमा प्रचलित धार्मिक, सांस्कृतिक तथा स्थानीय परम्पराअनुसार पर्व मनाउने विशिष्ट अभ्यासलाई पुनः उजागर गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top