काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु, विधागत चलचित्रको विकासमा जोड

0

काठमाडौं। नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण शुक्रबारदेखि काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ। हरर चलचित्रलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) चलचित्र निर्माण तथा प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।

कूटनीतिक नियोगका प्रतिनिधि, संस्कृतिकर्मी, चलचित्रकर्मी तथा चलचित्रप्रेमीहरूको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव (प्रेस तथा संस्कृति) वकास अहमद तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि पण्डितसहित अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सवको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, रसियन हाउस काठमाडौंकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्ध तथा आदानप्रदानलाई थप सुदृढ बनाउन नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यलाई अझ विस्तार गर्ने बताइन्।

महोत्सव निर्देशक रशिक पाठकले महोत्सव सफल बनाउन सहयोग गर्ने दर्शक, साझेदार तथा प्रवर्द्धकहरूप्रति आभार व्यक्त गर्दै यस वर्षदेखि दर्शक सहभागिताको नयाँ अभ्यास सुरु गरिएको जानकारी दिए। नयाँ व्यवस्थाअनुसार दर्शकले महोत्सवमा प्रदर्शित चलचित्र हेरेपछि मतपेटिकामार्फत आफ्नो मत जाहेर गर्न सक्नेछन्। दर्शकको प्रत्यक्ष सहभागितामा दर्शक रोजाइ विजेता छनोट गरिनेछ।

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका छन्।

उद्घाटन समारोहपछि दिउँसो १ः१५ बजे लेबनानी निर्देशक नादिम ताबेतद्वारा निर्देशित चलचित्र ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शनसँगै महोत्सवका फिल्म स्क्रिनिङ सुरु भएका थिए। ८५ मिनेट लामो अरबी भाषाको यो अलौकिक थ्रिलर फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो।

कात्तिक १५ गते (नोभेम्बर १) सम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधागत चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन, दर्शकको सक्रिय सहभागिता र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिएको महोत्सवले नेपालमा हररलगायत विधागत चलचित्रको बजार तथा सिर्जनात्मक सम्भावना विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्र अभ्याससँग जोड्दै नयाँ सिर्जना, सहकार्य र अवसरका ढोका खोल्ने लक्ष्यसमेत महोत्सवले राखेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top