ललितपुर। ललितपुरको मंगलबजारस्थित ऐतिहासिक कार्तिक डबलीमा प्रत्येक वर्ष प्रदर्शन हुँदै आएको विश्वप्रसिद्ध तथा ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ। कार्तिक नाच संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गरी यस वर्षको नाचसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो।
समितिका अध्यक्ष किरण चित्रकारका अनुसार यस वर्ष कछलाथ्व चतुर्थीदेखि कछलाथ्व पूर्णिमा (सकिमिला पुन्हि) सम्म १२ दिन लगातार कार्तिक नाच प्रदर्शन गरिनेछ। हरेक दिन साँझ ७ बजेदेखि मंगलबजारस्थित कार्तिक डबलीमा नाच प्रदर्शन हुने उनले जानकारी दिए।
पत्रकार सम्मेलनमा अध्यक्ष चित्रकारले कार्तिक नाचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पनि मन्तव्य राखेका थिए। समितिका उपाध्यक्ष प्रतापधर शर्मा राजोपाध्यायले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण समितिका प्रचारप्रसार संयोजक सञ्जय शर्मा राजोपाध्यायले गरेका थिए।
यस्तो छ यस वर्षको कार्तिक नाचको तालिका
समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार पहिलो दिन कात्तिक २७ गते शुक्रबार भक्त सुरदास प्रदर्शन गरिनेछ। त्यसैगरी कात्तिक २८ गते शनिबार माधवानर लीलाअन्तर्गत गोपिचन्द्रया बाखं (गोपिचन्द्रको कथा) र कात्तिक २९ गते आइतबार जुजु कामसेनया बाखं (राजा कामसेनको कथा) प्रस्तुत गरिनेछ।
कात्तिक ३० गते सोमबार माधवानर लीलाअन्तर्गत देवी प्याखं तथा मंसिर १ गते मंगलबार जुजु विक्रमादित्यया बाखं (राजा विक्रमादित्यको कथा) प्रदर्शन हुनेछ।
मंसिर २ गते बुधबार बाथः प्याखं च्वलय् खुदां दां खुदां र मंसिर ३ गते बिहीबार बाथः प्याखं कौला खिचा प्रस्तुत गरिनेछ। कार्तिक नाचका चर्चित प्रस्तुतिमध्ये बाथः प्याखं पनि एक हो।
त्यस्तै, मंसिर ४ गते शुक्रबार जलशयन (मधुकैटव वध) र मंसिर ५ गते शनिबार वराह अवतार (हिरण्याक्ष वध) प्रदर्शन गरिनेछ। यसै दिन कार्तिक नाचको सर्वाधिक चर्चित प्रस्तुतिमध्ये एक नृसिंह अवतार (हिरण्यकश्यपु वध) समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
मंसिर ७ गते सोमबार वस्त्रहरण लीला र अन्तिम दिन मंसिर ८ गते मंगलबार दधि लीलाको प्रदर्शनसँगै यस वर्षको कार्तिक नाच समापन हुनेछ।
३८६ वर्ष पुरानो ऐतिहासिक तथा सांस्कृतिक परम्परा
कार्तिक नाचको सुरुवात मल्लकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७६१ (विसं १६९७) मा गराएको इतिहास पाइन्छ। करिब ३८६ वर्ष लामो इतिहास बोकेको यो नाच नेपाली मौलिक कला, संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदाको महत्त्वपूर्ण प्रतीकका रूपमा रहँदै आएको छ।
राजा सिद्धिनरसिंह मल्लको पालादेखि सुरु भएको कार्तिक नाच विभिन्न धार्मिक तथा पौराणिक कथामा आधारित नृत्य, नाट्य र संगीतको विशिष्ट संयोजन हो। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो सांस्कृतिक परम्परा आजसम्म निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।
ललितपुरको पहिचानसँग जोडिएको कार्तिक नाचले धार्मिक तथा सांस्कृतिक महत्त्वका साथै नेपालको ऐतिहासिक कला र परम्पराको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
