२६५ जना गायक–गायिका, ६८ जना अभिनय कलाकार, ९० जना वाद्यवादकसहित ४०० भन्दा बढी व्यक्तिको सहभागितामा तयार भएको उक्त गानलाई महानगरका विभिन्न कार्यक्रमहरूमा ललितपुरको गानका रूपमा प्रस्तुत गर्न थालिएसँगै यसलाई संस्थागत रूपमा महानगरको गान बनाउने प्रयास सुरु भएको हो।
ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समितिको आयोजनामा सम्पन्न ‘कलाकार मुना (भेला)–सम्मान तथा सांस्कृतिक कार्यक्रम’ मा गानलाई महानगरको आधिकारिक गानका रूपमा आत्मसात् गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो। कार्यक्रममा समीक्षक प्रकाश साय्मिले ‘जय यल देय्’ लाई महानगरको गानका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न स्थानमा ललितपुरको गानका रूपमा प्रस्तुत भइसकेको यस गीतलाई महानगरको गानका रूपमा स्थापित गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनको भनाइपछि कार्यक्रममा उपस्थित सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो मातृभूमिप्रति समर्पित यस गानले उत्साह र अपनत्वको भावना जगाएको बताए। ‘यल देय्’ अर्थात् ललितपुरप्रति समर्पित गीतले स्थानीय पहिचान र गौरवलाई अभिव्यक्त गरेको उल्लेख गर्दै उनले यसलाई चाँडै महानगरको गानका रूपमा घोषणा गरिने अपेक्षा व्यक्त गरे।
४०० भन्दा बढी कलाकार तथा प्राविधिकको सहभागितामा तयार भएको गानलाई महानगरको पहिचानका रूपमा स्थापित गर्ने पहल
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले स्थानीय तहबाट कलाकारहरूको प्रगति र प्रवर्द्धनका लागि पर्याप्त काम हुन नसकेको उल्लेख गरे। उनले कलाकारहरूको सिर्जनात्मक विकासका लागि वडा नं. १६ ले सक्दो प्रयास गरिरहेको बताए। ‘जय यल देय्’ का रचनाकार तथा निर्माता समेत रहेका शाक्यले गान निर्माणमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
त्यसैगरी कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले ऐतिहासिक तथा प्राचीन नाचहरूको संरक्षणसँगै वर्तमान पुस्ताबाट पनि त्यस्तै स्तरका नयाँ सिर्जना हुनुपर्नेमा जोड दिए। यसका लागि स्थानीय तह तथा सरकारले कलाकारमैत्री वातावरण निर्माणमा भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
४०० भन्दा बढीको सामूहिक सिर्जना
‘जय यल देय्’ ललितपुरको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको हो। ललितपुरको प्राचीन नाम तथा स्थानीय समुदायमा आजसम्म प्रचलित नाम ‘यल’ भएकाले गीतमा यही मौलिक पहिचानलाई केन्द्रमा राखिएको छ।
गीतमा मनराजा नकर्मीको संगीत, भूपेन्द्र बज्राचार्यको संगीत संयोजन, सुमन कपालीको रेकर्डिङ तथा फिरोज बज्राचार्यको मिक्सिङ र मास्टरिङ रहेको छ। विश्वास बज्राचार्यको निर्देशन तथा अमर चित्रकारको छायांकन, कलर र सम्पादनमा गीतको श्रव्यदृश्य निर्माण गरिएको हो। गीत निर्माणको व्यवस्थापन अमोघवीर बज्राचार्यले गरेका हुन्।
यस गीतमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रत्न बेहोशी बज्राचार्य, तीर्थकुमारी, जुजुकाजी रञ्जित, संगीता थापा शाक्य, संगीत प्रधान राणा, निशा देसार, ओमविक्रम विष्ट, लोचन भट्टराई, दीपक बज्राचार्य, भीम तुलाधर, प्रवेशमान शाक्य, ईश्वर अमात्य, रमना श्रेष्ठ, सर्जु रञ्जित, सपनाश्री, नरेन्द्र प्यासी, ज्योति घिमिरे, मदन सिंह नेपाली, धनबहादुर गोपाली, बबिन प्रधान, यमन श्रेष्ठ, जेम्स प्रधान, राम श्रेष्ठ, सत्यनारायण मानन्धर, नलिना चित्रकार, सञ्जीव प्रधान, प्रतिमा राजभण्डारी, लसता जोशी, भिन्तुना जोशी, बुनु श्रेष्ठ, रिमा गुरुङ होडा, सुरजकुमार थापा, सरिता शाही, निभा डंगोल, रिता महर्जन, रत्नशोभा महर्जन, प्राश्ना शाक्य, बानिका प्रधान र सरिष्मा अमात्यलगायतका कलाकारले स्वर दिएका छन्।
त्यसैगरी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हिसिला महर्जन, मनोज महर्जन, सोहित मानन्धर, श्रीतिका श्रेष्ठ, रवि डंगोल, सलोना बज्राचार्य, भिन्तुना जोशी, रोजिना सुवाल र सुदित श्रेष्ठलगायतका कलाकारले गीतको दृश्यमा अभिनय गरेका छन्।
कलाकारलाई सम्मान
‘कलाकार मुना (भेला)–सम्मान तथा सांस्कृतिक कार्यक्रम’ मा ‘जय यल देय्’ निर्माणमा योगदान पुर्याउने गायक–गायिका, अभिनय कलाकार, वाद्यवादक तथा प्राविधिकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सम्मान कार्यक्रमपछि लोकप्रिय कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
ललितपुरको मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र सम्पदालाई एउटै सांगीतिक सिर्जनामा समेट्ने प्रयासका रूपमा तयार भएको ‘जय यल देय्’ लाई महानगरको आधिकारिक गानका रूपमा स्थापित गर्न सकिए यसले स्थानीय पहिचान र सांस्कृतिक गौरवलाई थप संस्थागत गर्ने अपेक्षा गरिएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
