भक्तपुर। नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय दबू, स्वनिगः विशेष समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालय, लाय्कू थिमिमा कात्तिक २८ गते शनिबार आयोजित कार्यक्रममा नेवाः समुदायका अगुवा, भाषासेवी, साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेवाः देय दबू, स्वनिगः विशेष समितिका अध्यक्ष नवीन थेच्वमीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गणेशमान श्रेष्ठले नेवाः जाति र भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि नेवाः देय दबूले गर्दै आएको संघर्ष र योगदानबारे चर्चा गर्दै उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। त्यसैगरी, नेवाः देय दबूका महासचिव श्रीकृष्ण महर्जनले नेवाः जाति र भाषाको उत्थानका लागि थिमि क्षेत्रका व्यक्तित्वहरूले पुर्याएको योगदानको चर्चा गरे।
संस्थाका वरिष्ठ उपाध्यक्ष सत्यनारायण डंगोलले नेवाः भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए। मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले मध्यपुर क्षेत्रमा भाषा र लिपिको संरक्षण तथा प्रवर्द्धनका लागि आफूहरू संघर्षरत रहेको बताउँदै यस अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकी प्रमुख अतिथि तथा नेवाः देय दबूकी केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले नेवाः भाषा, संस्कृति र समुदायको समग्र उत्थानका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताइन्। उनले भाषा र जातीय पहिचानको संरक्षण तथा विकासका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिन्।
कार्यक्रम सञ्चालनका क्रममा नेवाः देय दबूका महासचिव हरिबहादुर श्रेष्ठले कुनै एक भाषालाई मात्र प्राथमिकता दिई अन्य भाषालाई निषेध गर्ने प्रवृत्ति साम्प्रदायिक सोच भएको उल्लेख गर्दै सबै भाषाको समान विकास र प्रवर्द्धनका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले नेपाल संवत् नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै नेवाः भाषा, लिपि, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
