तामाङ संस्कार–संस्कृतिमा एकरूपता ल्याउन निर्देशिका संशोधन प्रस्ताव

0

काठमाडौं। तामाङ समुदायको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्दै समुदायभित्र एकरूपता कायम गर्ने उद्देश्यले तयार गरिएको ‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ संशोधन गरिने भएको छ। यसका साथै तामाङ समुदायको मौलिक शब्दावली र परम्परालाई समेटेर ह्युलठिम (विधान) नै निर्माण गर्नुपर्ने सुझावसमेत आएको छ।

अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) को आयोजनामा काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा आयोजित एकदिने गोष्ठीमा सहभागीहरूले निर्देशिकालाई थप परिमार्जन गरी सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका हुन्।

गोष्ठीमा तामाङ समुदायको धर्म, जन्मदेखि मृत्युसम्मका संस्कार, सामाजिक परम्परा तथा सांस्कृतिक अभ्यासलाई स्पष्ट रूपमा समेटेर साझा नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

मानवशास्त्री डा. मुक्तसिं लामाले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै तामाङ संस्कारमाथि धर्म परिवर्तन र विगतमा शासक वर्गले गरेको दबाबको प्रभाव देखिन थालेको बताए। उनले तामाङ समुदायका मौलिक संस्कार तथा प्रथाहरू भावी पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने गरी निर्देशिका तयार गर्नुपर्नेमा जोड दिए।

‘संस्कार’ नेपाली शब्द भएकाले तामाङ समुदायको आफ्नै शब्दावलीमा ह्युलठिम अर्थात् विधान निर्माण गर्न सकिने उनको सुझाव थियो।

गोष्ठीमा सहभागी तामाङ समाज टेक्सासका अध्यक्ष कुमार योञ्जनले तामाङ समुदायको सामूहिक हित, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि प्रवासमा रहेका तामाङ संघसंस्थाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

‘तामाङ संस्कार, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि यो गोष्ठी महत्वपूर्ण उपलब्धि बन्ने विश्वास लिएका छौँ,’ उनले भने।

गोष्ठीको व्यवस्थापन गरेको नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङले निर्देशिकालाई सर्वमान्य बनाई देश तथा विदेशमा कार्यान्वयनमा लैजान घेदुङ तयार रहेको बताए।

गोष्ठीमा संस्कृतिविद्, ताम्बा, गान्बा, सांस्कृतिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न देशका प्रतिनिधिहरूले निर्देशिकामा समेटिएका विषयवस्तु र तामाङ संस्कारका अभ्यासमा आवश्यक संशोधनबारे सुझाव दिएका थिए।

प्राप्त सुझावलाई थप अध्ययन तथा अनुसन्धान गरेर विज्ञ समितिले निर्देशिकालाई अन्तिम रूप दिने आइटिसीका महासचिव टासी लामाले जानकारी दिए। डा. संग्रामसिंह लामाको नेतृत्वमा रहेको विज्ञ समितिले सुझावहरूको अध्ययन गरी निर्देशिकाको मस्यौदालाई परिमार्जन गर्नेछ।

यसका लागि तामाङ समुदायको बसोबास रहेका विभिन्न देशमा थप छलफल तथा परामर्श गरिनेछ। भारत, बर्मा, सिक्किम र भुटानलगायतका स्थानमा पुगेर राय संकलन गर्नुका साथै नेपालका तामाङ समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा पनि अनुसन्धान गरिने महासचिव लामाले बताए।

‘विभिन्न देशमा छलफल गरी राय संकलन गरिनेछ। त्यसैगरी नेपालका तामाङ बसोबास बाक्लो रहेका ठाउँमा अनुसन्धान गरी प्रस्तावनालाई थप समृद्ध बनाएर विज्ञ समितिले अन्तिम रूप दिनेछ,’ उनले भने।

महासचिव लामाका अनुसार आगामी छ महिनाभित्र निर्देशिकाको मस्यौदा तयार पार्ने लक्ष्य राखिएको छ। अन्तिम रूप दिइएको निर्देशिका आइटिसीको छैटौँ सम्मेलनमा प्रस्तुत गरी पारित गर्ने तयारीसमेत गरिएको छ। आइटिसीको छैटौँ सम्मेलन एक वर्षभित्र आयोजना गर्ने तयारी रहेको उनले जानकारी दिए।

हाल निर्देशिकामा तामाङ समुदायका परम्परागत संस्कार तथा सांस्कृतिक अभ्यासलाई जन्म संस्कार, कर्म संस्कार र मृत्यु संस्कार गरी मुख्य तीन भागमा समेटिएको छ। यसअन्तर्गत गर्भको रक्षा, न्वारान, विभिन्न कर्म संस्कार, विवाह तथा मृत्यु संस्कारका साथै तामाङ समुदायको पहिचान, भेषभूषा र सांस्कृतिक मापदण्डसम्बन्धी विषय समावेश छन्।

निर्देशिकालाई थप परिमार्जन गरी सर्वस्वीकार्य बनाउने र समुदायका मौलिक परम्परा तथा सांस्कृतिक पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यसहित आइटिसीले विभिन्न चरणमा छलफल र अनुसन्धान अघि बढाउने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top