काठमाडौं । हास्यप्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा शनिबार अनौठो दृश्य देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम चलिरहँदा अचानक प्रहरीको टोली हलभित्र प्रवेश गरी निर्देशकसहित कलाकारलाई नियन्त्रणमा लिएर बाहिर निकालेपछि कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा दर्शकहरू अचम्मित बने ।
करिब एक घण्टासम्म चलेको कार्यक्रमको अन्त्यतिर सञ्चालक तथा चलचित्र पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्नका लागि आग्रह गरिरहेका थिए । एक पत्रकारले प्रश्न सोधिरहेका बेला अचानक चार–पाँच जनाको संख्यामा प्रहरी हलभित्र प्रवेश गरे ।
प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिँदै निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल, शिशिर वाङ्देललगायतलाई समातेर बाहिर निस्कन भन्यो । त्यसपछि उनीहरूलाई हलबाट तल झार्दै बाहिर राखिएको प्रहरी भ्यानमा राखेर लगियो ।
कार्यक्रमस्थलमा एकाएक देखिएको यो दृश्यले उपस्थित सञ्चारकर्मी मात्र होइन, बाहिर रहेका सर्वसाधारणलाई समेत अचम्मित बनायो । ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई प्रहरीले किन पक्राउ गर्यो भन्ने जिज्ञासा सामाजिक सञ्जालमा समेत फैलियो ।
तर, यो कुनै वास्तविक प्रहरी कारबाही वा पक्राउको घटना थिएन । चलचित्र ‘ककाकिकी’को प्रचार रणनीतिअन्तर्गत निर्माण टोलीले तयार पारेको योजनाबद्ध दृश्य थियो । चलचित्रको कथामा पनि पात्रहरूलाई प्रहरीले नियन्त्रणमा लिएर लैजाने प्रसंग रहेकाले सोही दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममा वास्तविक घटनाजस्तै प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथावस्तुसँग जोडिएको दृश्यलाई कार्यक्रममै जीवन्त बनाएर दर्शक तथा सञ्चारकर्मीको ध्यान आकर्षित गर्ने उद्देश्यले यस्तो प्रचार शैली अपनाइएको हो । अप्रत्याशित रूपमा प्रहरी प्रवेश गराएर कलाकारलाई नियन्त्रणमा लिएको दृश्य प्रस्तुत गर्दा केही समयका लागि कार्यक्रमस्थलमा वास्तविक पक्राउकै अवस्था सिर्जना भएको थियो ।
सामाजिक सञ्जालमा कलाकारहरूलाई प्रहरीले पक्राउ गरेर लगेको भन्दै विभिन्न चर्चा भइरहेका बेला निर्माण पक्षले उक्त घटना चलचित्रको प्रचारात्मक प्रस्तुति मात्रै भएको स्पष्ट पारेको छ ।
हास्यप्रधान चलचित्र ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
