काठमाडौं । नेवाः देय् दबू, काठमाडौं महानगरपालिका वडा नं. २५ समितिको आयोजनामा नेपाल संवत् ११४७ को अवसर पारेर क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। प्रदीप्त पुस्तकालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष मनोजमान कर्माचार्यले गर्नुभएको थियो भने कार्यक्रम कमला मानन्धरले सञ्चालन गरेको थियो।
सामान्यतया पुस्तक, स्मारिका तथा क्यालेन्डर विमोचनजस्ता औपचारिक कार्यक्रममा वरिष्ठ व्यक्तित्व, नेता तथा मन्त्रीहरूबाट विमोचन गराउने परम्परा रहँदै आएको छ। तर स्थापित परम्पराभन्दा फरक सन्देश दिने उद्देश्यले यस वर्ष पनि बालबालिकाको हातबाट नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन गरिएको आयोजकले जनाएको छ।
बालबालिकाको हातबाट क्यालेन्डर विमोचन गरिनुले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानप्रति जिम्मेवार बनाउनुका साथै सांस्कृतिक अभियानको नेतृत्व तहसम्म पुर्याउनुपर्ने सन्देश दिएको छ। संस्कृति संरक्षणको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको यस पहललाई सहभागीहरूले सकारात्मक अभ्यासका रूपमा लिएका थिए।
कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सचिव श्रीजनमान श्रेष्ठ, मिसा दबूकी रमिता बज्राचार्य, स्थानीय बौद्धिक व्यक्तित्वहरू प्रबोध वीर सिंह कसाः, रोशन शाक्य तथा पूर्व वडा अध्यक्ष बाबुराजा महर्जनलगायतले नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे आ–आफ्ना विचार व्यक्त गर्दै नयाँ वर्षको शुभकामना दिएको थियो।
वक्ताहरूले नेपाल संवत् केवल समय गणना गर्ने संवत् मात्र नभई नेवाः समुदायको ऐतिहासिक पहिचान, मौलिकता र गौरवसँग जोडिएको राष्ट्रिय सम्पदा भएको उल्लेख गर्नुभयो। यसको संरक्षण, प्रवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।
त्यसैगरी, पछिल्ला केही वर्षदेखि विभिन्न चाडपर्व मनाउने दिनमा एकरूपता नदेखिएको र एउटै पर्व फरक–फरक दिनमा मनाउने प्रवृत्ति बढ्दै गएको विषयमा पनि वक्ताहरूले चिन्ता व्यक्त गरेका थिए। यसमा सुधार गरी चाडपर्व तथा सांस्कृतिक तिथिमितिमा एकरूपता कायम गर्नुपर्नेमा एकमत हुन आग्रह गरे।
कार्यक्रममा नेवाः देय् दबूका सचिव एवं सांस्कृतिक अभियन्ता श्रीजनमान श्रेष्ठले संस्कृतिको संरक्षण भाषणले मात्र नभई पुस्तान्तरणबाट सम्भव हुने बताए। उनले आजका बालबालिका भोलिका संस्कृतिका संवाहक र समाजका नेतृत्वकर्ता भएकाले उनीहरूलाई सुरुदेखि नै भाषा, संस्कृति र परम्परासँग जोड्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा समाजसेवी बिमला मानन्धरले नेपाल संवत् र यसका प्रवर्तक शंखधर साख्वासम्बन्धी कविता वाचन गरेको थियो। त्यसैगरी साहिना शाक्य र मिरिका उदासले श्रीकुमारी नृत्य प्रस्तुत गरी कार्यक्रमलाई सांस्कृतिक रौनक प्रदान गरेको थियो।
समग्रमा, नेपाल संवत् ११४७ को अवसरमा आयोजित यस कार्यक्रमले नेवाः भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै नयाँ पुस्तामा सांस्कृतिक चेतना र अपनत्व विकास गर्ने सन्देश दिएको छ। औपचारिक परम्पराभन्दा फरक ढंगले बालबालिकालाई प्राथमिकता दिँदै गरिएको क्यालेन्डर विमोचनले संस्कृति संरक्षण र पुस्तान्तरणको अभियानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
