राहदानीको लागि निवेदन दिने तरिका

0



राहदानीको लागि निवेदन दिने तरिका


राहदानीको लागि निवेदन कसरी दिने ?

अनलाइनबाट अनिवार्यरुपमा फाराम भरी मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुनेछैन । आफ्नो बुकिङ्गको दिन तोकिएको समयमा मात्र आउनुपर्छ । हरेक आधा घण्टाको बुकिङ्ग हुने, आधा घण्टामा करिब सयजना सेवाग्राही हुने र हाल विभागमा २२ वटा लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने ठाउँ भएकोले धेरै समय लाइन बस्न आवश्यक छैन । अहिले यो ब्यवस्था कडाइका साथ लागू गरिएकोले तोकिएको मिति र समयमा मात्र आउनु होला । जस्तै, दिउसो ३ बजेको बुकिङ्ग छ तर विहान १० बजे नै विभागमा आएमा अनावश्यक रुपमा पाँच घण्टा बढी पर्खिनु पर्ने हुन्छ ।

सोही दिनको बुकिङ्ग भएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइ विभागले प्रतिदिन राहदानी जारी गर्न सक्ने क्षमताको आधारमा स्वास्थ्य उपचार, सम्बन्धित मुलुकको भिसा र टिकट भएको जस्ता अत्यावश्यक काम र प्रमाणको आधारमा मात्र पछिका बुकिङ्गलाई अगाडि ल्याएर अत्यन्त सीमित सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराउन सक्नेछ ।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला । फाराम भर्नुपूर्व तल उल्लिखित महत्वपूर्ण सूचनाहरू अनिवार्य पढ्नुहुन अनुरोध छ ।

विद्युतीय राहदानीको लागि फारम भर्दापहिले यो लिंकमा जानुहोला ।

https://emrtds.nepalpassport.gov.np

राहदानीको लागि निवेदन दिने तरिका

जान्नै पर्ने थप कुराहरु अनिवार्य पढ्नुहोला

जिल्ला प्रशासन कार्यालय वा अन्य कुनै निकायको सिफारिस वा पत्र लिएर आएमा विभागबाट छिटो राहदानी बनाउन सकिन्छ वा सकिदैन ?

सकिदैन । आफूले बुक गरेको मिति र समयमा मात्र आउनै पर्ने हुनाले पछिको बुकिङ्ग भएका सेवाग्राहीलाई अगाडि ल्याएर सेवा प्रदान गर्न सकिदैन । त्यसैले जिल्लाबाट पहिले मिति र समय बुक गरेर सोही मिति र समयमा मात्र विभागमा आउनु पर्ने हुन्छ । यसरी आएमा कुनै सिफारिसको आवश्यक पर्दैन । स्वास्थ्य उपचार जस्तो अत्यावश्यक अवस्थामा मात्र निकै सीमित सेवाग्राहीलाई विभागको क्षमताले भ्याएमा सेवा प्रदान हुन सक्छ ।

फाराम भर्दा धेरै सेवाग्राहीहरुले गर्ने गरेका त्रुटीहरु के के हुन ?

निवेदनका प्रकार गलत छनौंटः जस्तै पहिलो पटक राहदानी लिन, नवीकरण गर्न, हराएको बिग्रेको सट्टामा लिन (निवेदनका प्रकार गलत छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ) ।

विवरण गलत भरेकोः पुराना यन्त्रबाचक राहदानी भएको तर विवरण उल्लेख नगरेको । प्रणालीबाट सबै कुरा भिडान हुने हुनाले कुनै विवरण लुकाउनु हुँदैन ।

नागरिकता नम्बर गलत टाइप गरेको ।

गलत पृष्ठको राहदानी छनौट गरेमाः ३४ र ६६ पृष्ठका राहदानीको दस्तुर फरक फरक छ । विभागमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको १२ हजार र ६६ पृष्ठको राहदानीको २० हजार दस्तुर लाग्छ । जिल्ला र नियोगमा निवेदन दिंदा छुट्टै दस्तुर लाग्छ । १२ हजार दस्तुर तिर्न चाहेको तर ६६ पृष्ठ छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ।

जन्मस्थान गलत उल्लेख गरेको ः आफू जन्मेको जिल्ला लेख्ने ठाउँमा नागरिकता जारी गरेको जिल्ला छनौट गरी त्रुटी हुने गरेको । जुन जिल्लामा आफू जन्मेको हो सोही जिल्ला उल्लेख गर्नु पर्दछ ।

जरुरी परेमा सम्पर्क गर्ने विवरणः आफ्नै नाम ठेगाना लेख्नु हुँदैन । परिवारका सदस्य वा नातेदारको लेख्नु पर्दछ ।

नाम र थर लेख्दा त्रुटी ः नाममा शुरुको नाम र बीचको नाम लेख्नु पर्दछ । थरमा थर मात्र लेख्नु पर्दछ । जस्तै राम बहादुर मगर नाम भएमा नाममा राम बहादुर र थरमा मगर लेख्नु पर्दछ । नाम रामबहादुर घर्ती मगर भएमा नामको महलमा रामबहादुर र थरको महलमा धर्ति मगर लेख्नु पर्दछ ।

नामको स्पेलिङ्ग गलत हुने गरेको ः आफ्नो नागरिकता, आफूले अध्ययन गरेको प्रमाणपत्र तथा पुरानो राहदानीमा उल्लेख भएको नामको स्पेलिङ्गलाई ख्याल गरेर टाइप गर्नु पर्दछ ।

फाराम भरी सकेपछि निवेदनको प्रकार र आफूले चाहे भन्दा फरक पृष्ठ संख्याको राहदानी छनौट गरेको अवस्था बाहेक अन्य विवरणहरुमा सामान्य त्रुटी भएमा रुजु गर्ने अधिकारी वा लाइभ इनरोलमेन्ट गर्ने अधिकारीले संशोधन गर्न सक्नेछन । तर तस्विर खिची फाराम ठीक छ भनेर हस्ताक्षर गरेपछि कुनै विवरण संशोधन हुनेछैन । यसपछि कुनै त्रुटी भएमा पुनः फाराम भरी थप दस्तुर तिर्नु पर्ने हुँदा विशेष ध्यान दिनु होला ।

विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?

सामान्य अवस्थामा अनलाइनबाट फाराम भरी बुक गरेको मिति र समयमा गएर लाइभ इन्रोलमेन्ट गरेपछि दुई कार्य दिन लाग्छ । पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिनेछैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टको लागि समय बुक गर्नुहोला ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला । सामान्यतया दुई कार्य दिन भित्र एसएमएस आउंछ । यदि रिजेक्ट भयो भने कारण बताइएको हुन्छ । सोहीअनुसार गर्नुहोला । दुई कार्य दिन भित्र कुनै पनि एसएमएस नआएमा निवेदन अनुसन्धानमा गएको हुन्छ । करिब चार पाँच दिन धैर्य गर्नु होला । त्यसपछि मात्र स्वीकृत भएको वा अस्वीकृत भएको एसएमएस आउने छ । कहिलेकाही विभिन्न निकायमा बुझ्नु पर्ने हुँदा थप समय पनि लाग्न सक्छ ।

बुकिङ्ग मिति पछाडिको मात्र पाइएको तर आफूलाई जरुरी परेको अवस्थामा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुमा अनुरोध गरी अगाडि ल्याउन सकिन्छ वा सकिदैन ?

बुकिङ्गबाट फाराम भरेका सेवाग्राहीलाई प्राथमिकता दिंदै आफ्नो जनशक्ति र क्षमताले भ्याएमा जरुरी भएको अवस्थामा मात्र सीमित सेवाग्राहीलाई त्यस्तो सेवा दिन सक्छन् ।

बुकिङ्ग फुल भएर वा अन्य कारणले फाराम भरेर अनलाइनबाट पेश गर्न नै नसकिएमा के गर्ने ?

सामान्यतया बुकिङ्ग फुल भएको अवस्थामा फाराम पेश गर्न नसकिएको हुन सक्छ । यस्तो भएमा तुरुन्त सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु पर्दछ । कुनै व्यक्ति वा साइबरले अनधिकृत रुपमा बुकिङ्ग होल्ड गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय वा विभागमा जानकारी गराउनु हुन अनुरोध छ । बुकिङ्ग कार्यालय समयमा मात्र खोलिन्छ ।

कसैले आफूले भन्दा पछि फारम भरेको तर पालो आफ्नो भन्दा अगाडि आउन सक्छ कि सक्दैन ?

कुनै निवेदकले बुकिङ्ग रद्द गरेको अवस्थामा सो बुकिङ्ग खाली हुने हुँदा अगाडि पालो पनि आउन सक्छ । कहिले काही विभाग वा जिल्ला वा इलाका प्रशासन कार्यालय वा नियोगहरुले आफ्नो क्षमताले भ्याएमा र बुकिङ्ग कम भएको पाइएमा संख्या थप्न सक्छन् । सो अवस्थामा पनि अगाडिको मिति पाउन सकिन्छ ।

लाइभइनरोलमेन्ट केन्द्र परिवर्तन गरेर एउटा भरेको फाराम हुंदाहुंदै अर्को नयाँ फाराम भर्न मिल्छ कि मिल्दैन ?

मिल्छ । निश्चित समय पछि फाराम आफै डिलिट हुन्छ । आफूले पहिले भरेको फाराम आवश्यक नपर्ने भएर हटाएमा अरु कसैले सो बुकिङ्ग पाउछ । फारम भरेकै भरमा राहदानी बन्दैन । लाइभ इनरोलमेन्ट केन्दमा गएर रुजु गर्ने, राजस्व तिर्ने, तस्विर खिच्ने, औठाछाप दिने आदि कार्य गर्नुपर्दछ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?

विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रतसेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।

जिल्लाहरूमा लाइभ इनरोलमेन्ट गरी सकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब ७ दिन देखि १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?

१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ । नाबालकको हकमा जिल्लामा नाबालक परिचयपत्रको आधिकारिकता पुष्टी गरेको तस्विर सहितको पत्र अनिवार्य आवश्यक पर्छ । यदि नेपालमा नै यन्त्रबाचक राहदानी बनाएको भए यस्तो पत्र आवश्यक पर्दैन ।

रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?

विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा (नं २) सम्पर्क गर्नु होला, पुनः लाइन बस्नु पर्दैन । रिजेक्सनको कारण थाहा भएमा तोकेअनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन गर्न सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।

द्रुर्तसेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?

केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।

म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?

हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ । हराएको, बिग्रेको जस्तो अवस्था बाहेक एक बर्ष भन्दा बढी म्याद भएका राहदानीको सट्टामा नयाँ बनाउन पाइँदैन ।

साथमा तस्विर र फोटोकपीहरु ल्याउन पर्दछ कि पर्दैन ?

तस्विर लाइभ इनरोलमेन्ट सेन्टरमा खिचिने हुनाले तस्विर ल्याउनु पर्दैन । साथै तोकिएका कागजातको सक्कल ल्याउनु पर्दछ । फोटोकपीहरु आवश्यक पर्दैन ।

विद्युतीय राहदानी के हो ?

हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुनेहुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

                                                                                                   स्रोत ः राहदानी विभाग


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top