बोदेको ऐतिहासिक पलेस्वाँ पोखरीको मुद्धाको किनारा लाग्दै, फैसलाका दिन उच्च अदालत जान थिमिका बासिन्दालाई आव्हान

0
बोदेको ऐतिहासिक पलेस्वाँ पोखरीको मुद्धाको किनारा लाग्दै, फैसलाका दिन उच्च अदालत जान थिमिका बासिन्दालाई आव्हान


भक्तपुर । बिक्री भएर व्यक्तिको नाममा गएको मध्यपुरथिमि नगरपालिका–८ बोदेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको पलिस्वाँ पुखुः सार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ पोखरीमा फुलेको कमलको फूल बोदे लायकूमा रहेको  तलेजुलाई दशैँमा चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने परम्परा रहदै आएको पलेस्वाँ पोखरी सार्वजनिक रुपमै फर्काउन स्थानीयले माग गरेका हुन् ।

पलेस्वाँ पोखरी सुटुक्क व्यक्तिको नाममा नामसारी गरि किनबेच समेत भएको थाहा पाएपछि स्थानीयले भूमाफियासँग पोखरी सार्वजनिक सम्पत्तिकै रुपमा फर्काउन कानूनी लडाई लड्दै आएको छन् । तत्कालीन बोदे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण समेतगरेको भन्दै बोदेका बासिन्दाले सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग राखेका हुन् ।

२०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेसनामा मार्फत बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा नामसारी भएको हो । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ धार्मिक तथा साँस्कृतिक महत्व बोकेको पलेस्वाँ पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमिका बासिन्दाले यस अघि पनि पटक पटक उच्च अदालत पाटनमा धर्ना दिदै आएका छन् ।

धार्मिक एवं सार्वजनिक पोखरीको खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग गर्न नआउँदा स्थानीयले पत्तो नपाएको अबस्थामा २०७० साल अगाडि पोखरीमा माटो पुरेर जग्गा टुक्राएर बस्ती बिकास गर्न भन्दै डोजर आए पछि बल्ल पोखरी किनबेच भएको स्थानीयले थाहा पाएका थिए । स्थानीयले माटो पुर्न आएका डोजर र केही व्यक्तिलाई लछारपछार गर्दै लखेटे पछि पोखरी सार्वजनिक सम्पत्तिको रुपमा फर्काउन कानूनी लडाई सुरु भएको थियो ।

स्थानीयले ऐतिहासिक पलेस्वाँ पोखरी संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै आएको स्थानीय बिरेन्द्र जयनाले बताउनु भयो । स्थानीयले जिल्ला अदालत भक्तपुरको फैसलालाई उच्च अदालतले सदर गर्ने विश्वासमा रहेकै बेलामा मिलापत्र गर्ने गरि प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित बनेका छन् । मुद्धाको वारेस बसेका द्रव्यलाल जयनाले यहीँ जेठ ३१ गते मुद्धाको पेशी रहेको र सोही दिन फैसला हुन सक्ने भन्दै मुद्धा फैसलाबाट नभई मिलापत्रबाट टुङ्याउने प्रस्ताव आएको जानकारी दिनु भयो ।

यसबारेमा पलेस्वाँ पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधरले मुद्धाको अन्तिम किनारा लाग्ने चरणमा पुगेको भन्दै पोखरी खरिद गर्ने पक्षबाट मिलापत्र गर्ने प्रस्ताव आएको बताउनु भयो । त्यसकाबारेमा दुई पक्षबीच थप छलफल नभएकाले मिलापत्र भन्दा पनि उच्च अदालतको फैसला नै कुर्नु पर्ने बताउनु भयो ।

मध्यपुरथिमि नगरपालिका–८ बोदेका वडाध्यक्ष रमेश थापा श्रेष्ठले दुई पक्षका कानून व्यवसायीले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक गर्ने प्रस्ताव ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले पोखरी सार्वजनिक रुपमानै ल्याउनु पर्छ भनेर कानूनी लडाई लडेका हौँ, अहिले दुबै पक्षका वकिलहरुले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउँ भन्ने प्रस्ताव आएको छ, यो सकारात्मक हो तर यसबारेमा पछिल्लो समयमा थप छलफल हुन सकेको छैन, यस्तो अबस्थामा अब दुई दिनमा आउने अदालतको फैसला कुर्नु नै उपयुक्त होला ।” पोखरीलाई सार्वजनिक बनाएर हारजीतमा नगई आफ्नो पनि पोखरीमा योगदान रहेको सन्देश सार्वजनिक पोखरी किन्ने पक्षले दिन खोजेको हुन सक्ने उहाँको भनाइ छ ।

अदालतमा मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउने, पोखरी किन्ने समूहलाई क्षतिपूर्तिको व्यबस्था गर्ने र उनीहरुलाई मध्यपुरथिमिमा सम्मान गर्ने प्रस्ताव आएको स्थानीयले बताएका छन् । स्थानीयले यो प्रस्ताव अस्विकार गर्दै आक्रोस व्यक्त गर्दै व्यक्तिको नाममा पोखरी बिक्री गर्ने कार्यमा संलग्न सबैको राज्यले खोजी गरि कारबाही गर्नु पर्ने माग राखेका छन् । स्थानीयले भने सार्वजनिक पोखरी किन्नेसँग सहमति गर्ने र उनीहरुलाई आफ्नै बस्तीमा ल्याएर सम्मान गर्नु भनेको सार्वजनिक सम्पत्ति हडप्न प्रोत्साहन गर्नु सरह हो भन्दै यस्तो सहमति र मिलापत्र नगर्न खबरदारी गरेका छन् ।

जिल्ला अदालत, भक्तपुरले उक्त मुद्धामा २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोदेस्थित पलेस्वाँ पोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालतको फैसला आउने बित्तिक मध्यपुरथिमि नगरपालिकाले उक्त पोखरीको संरक्षण अभियान सुरु गरेको थियो । अदालतमा आफै पनि प्ले कार्ड बोकेर धर्नामा बस्दै आउनु भएका नगरपालिकाका तत्कालिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि भोलीपल्ट नै नगरपालिकाबाट ७५ लाख बजेट विनियोजन गरेर पलेस्वाँ पोखरी संरक्षण थाल्नु भएको थियो । उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरी सफा गरी ७५ लाख रुपैयाँको लागतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख श्रेष्ठ बताउनु भयो ।

नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमै पुनःनिर्माण गरेको छ । पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि पाँच लाख रुपैयाँको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनुका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ ।

यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकूमा रहेको तलेजुलाई दसैँमा चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको बताउदै श्रेष्ठले उच्च अदालतले पनि जनताकै पक्षमा फैसला सुनाउने अपेक्षा गरेको बताउनु भयो । बोडेका बासिन्दाले भने आगामी मंगलबार उच्च अदालत पाटनमा हुने फैसला सुन्न जानका लागि मध्यपुरथिमिका बासिन्दालाई आव्हान समेत गरेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top