भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागि मध्ये चार लाख ९५ हजार ७५१ जना परीक्षार्थीको नतिजा सार्वजनिक गर्नु भएको हो ।
सदस्य सचिव अर्यालले यसवर्ष उच्च श्रेणीमा उतीर्ण हुने विद्यार्थी १ दशमलव ९४ प्रतिशत रहेको बताउनु भयो । उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ९ हजार ६३३ अर्थात १ दशमलव ९४ प्रतिशत परीक्षार्थीले ल्याएका छन् ।
त्यस्तै एसईईमा ४१ हजार ६२७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, ६९ हजार ९०० जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।
त्यस्तै एक लाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार ५८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार २८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो ।
नतिजा यसरी हेर्नुहोस ः
एसईईको नतिजा आउने भन्ने थाहा पाए लगत्तै विद्यार्थी तथा अभिभावकहरुलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने र आत्तिदै फोन गर्ने गर्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्न लागेको एईई परीक्षाको नतिजा सहजै हेर्ने व्यबस्था गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो । यसका लागि विद्यार्थीले वेबसाईड, एसएमएस र आईभिआरबाट हेर्न सकिने व्यबस्था गरेको जानकारी दिनु भयो ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरि प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यबस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो ।
एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३५००१ र ३३६२४ मा डायल गर्न सक्ने व्यबस्था गरेको छ । नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।