काठमाडौं । नेपाल भाषा एकाडेमीका कुलपति यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यतामा मोती शोभा श्रेष्ठबाट लेखिएका नेपालभाषाका लघु उपन्यास संग्रह र “नेपालमा घरेलु उद्योगको विकास“ नामक पुस्तक तथा प्रा.डा. सिर्जना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठबाट लेखिएका नेपालभाषाका दुई कविता संग्रहहरूको संयुक्त रुपमा लोकार्पण गरिएको छ ।
लेखिका मोती शोभा श्रेष्ठका लघु उपन्यासहरूमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्त्वपूर्ण पक्षहरूलाई सरल भाषामा प्रस्तुति गरका छन् । उनका रचनाहरूमा समाजमा विद्यमान विसंगति र विभेदहरूलाई औंल्याउनुका साथै तिनका सकारात्मक समाधानका पक्षको पनि उल्लेख गरिएका छन् । लेखिका श्रेष्ठ अर्थशास्त्रमा स्नातकोत्तर गरी सरकारी सेवामा लामो समय कार्यरत रही नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सह–सचिव पदबाट अवकाश प्राप्त गरेकी थिइन् ।
कवियत्री सिर्जना श्रेष्ठका कविताहरूमा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोह अवरोहबीच अलमलिएका मान्छेको परिचय, माया र सम्बन्धका आभासहरू प्रष्ट भेटिन्छन् । उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ, प्राध्यापकको रूपमा कार्यरत छिन् र वहाँ प्रतिष्ठानको स्कूल अफ मेडिसिनका पूर्व डीन रहनु भएको थियो ।
कवियत्री सबिना श्रेष्ठका कविताहरूमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरू कोरिएको भेटिन्छन् । त्यस्तै मनका जिज्ञासा, कौतुहलता र प्रश्नहरू लगायत माया, प्रेम र समाजका अन्य परिदृश्यहरू समेत कवितामा समेटिएका छन् । उनी हाल काठमाडौँ मेडिकल कलेजमा बाल आँखा रोग विशेषज्ञ, प्राध्यापकका रूपमा कार्यरत छिन् । उनी नेपाल आँखा अस्पतालका पूर्व निर्देशक समेत रहेकी थिइन् ।
नेपाल भाषा फाउन्डेसनबाट एकै परिवारका ३ सदस्यहरूका ४ वटा नेपालभाषामा लेखिएका कृतिहरू लोकार्पण भएको छ । कवियत्री द्वय डा. सिर्जना र डा. सबिना मोती शोभा श्रेष्ठकी छोरीहरू हुन् । यी पुस्तकहरू पहिले नेपाली भाषामा पनि प्रकाशित भइसकेका थिए ।