मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिक रुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाले गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेट चालु आर्थिक वर्षबाट कार्यान्वयनमा समेत आइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटबारे स्थानीय जनतालाई जानकारी गराउन पुस्तकको रुपमा सार्वजनिक गरिएको र नगरपालिका र प्रत्येक वडाबाट लिएर हेर्न मिल्ने प्रवन्ध मिलाइएका नगरपालिकाले जनाएको छ ।
सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र प्रजापतिले चालु आर्थिक वर्षमा विकास बजेटलाई सदुपयोग गर्ने प्रतिवद्धता प्रकट गरे । बजेट सक्न आर्थिक वर्षको अन्त्यतिर गरिने बिकास निर्माणलाई निरुत्साहित गर्दै यस वर्षबाट विकास बजेटको खर्च बढाउन भदौ महिनाबाटै योजनालाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रष्ट पारे । यसवर्ष जेठ महिनाभित्र सबै योजनाको काम सम्पन्न हुने गरी योजना कार्यान्वयनमा लैजान वडा अध्यक्षहरु र कर्मचारीहरुलाई प्रमुख श्रेष्ठले निर्देशन समेत दिएका थिए ।
नगरप्रमुख श्रेष्ठले आफूहरु निर्वाचित भएर आएको दुई महिनामै ४ वटा ऐन निर्माण गरी नगरसभाबाट पारित गरिएको, मध्यपुर थिमि नगरवासीलाई कुनै पनि रोगको उपचारका लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाईटी भक्तपुरसँगको सहकार्यमा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको, नगरका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डायलासिस सेवा सञ्चालन अन्तिम चरणमा पुर्याएको, स्वबासी जग्गा दर्ताको लागि आवश्यक पहल गरिएको जस्ता जनमुखी कार्य अघि बढाएको पनि बताए ।
कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना र सरसफाईलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरिएको बताए । उनले बजेटको परिधिभित्र रहेर काम गर्न प्रेरित गर्दै जनताको करको सदुपयोग गर्नु सबैको कर्तब्य भएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सुजाता बैद्य, निवर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, पूर्व प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व उपप्रमुख मुरारीप्रसाद आचार्य, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति लगायतले नगरपालिकाले सदैव जनतालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण र योजना तर्जुमा गर्नुपर्नेमा जोड दिदै मध्यपुर थिमिका जनप्रतिनिधिले लिएको नीति तथा कार्यक्रम र त्यसको अधिनमा रहेर तर्जुमा गरेको बजेटले स्थानीय जनताको हीत प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए ।
चालु आ.व.का लागि मध्यपुर थिमि नगरपालिकाको बजेट १ अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया रहेको छ । जसमध्ये चालु खर्चतर्फ ५९ करोड ५९ लाख ४४ हजार, वडागत योजना कार्यान्वयनका लागि २७ करोड ९ लाख, नगर स्तरीय योजना र सार्वजनिक निर्माण समेतका लागि ५७ करोड ६९ लाख ५६ हजार विनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फ नगरपालिका अस्पतालको रुपमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्तरोन्नती गर्दै सीसीयू संचालन, ब्लड बैंक, एमआरआइ र मृगौला डायालासिसकोसमेत सेवा शुरु गर्ने नीति तथा कार्यक्रम रहेको छ । साथै अस्पतालको आर्थिक प्रशासनलाई व्यवस्थित बनाउन अन्तिम लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा रोजगारीलाईसमेत प्राथमिकता दिईएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई रोजगारीसंग जोड्ने नीति लिईएको छ भने नगरपालिकाले संचालन गर्ने विकास निर्माण कार्यमा मानवीय श्रमलाई प्राथमिकता दिएर रोजगारी सृजना गर्ने बताइएको छ । सोही अनुरुप बजेट व्यवस्था गरिएको छ ।
स्वरोजगारमूलक तालिम र सहुलियतपूर्ण व्यवसाय कर्जाको व्यवस्था त्यस्तै परम्परागत उद्योगको बिकास गरी रोजगारी सृजनाको नीति लिईएको छ । त्यसैगरी नगरापालिककाकै आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग संचांलन गर्ने र नगरपालिका आफैले बजार व्यवस्थापन गरी रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी नीति समेत घोषणा गरिएको छ ।
मध्यपुर नगरपालिकाले शिक्षाक्षेत्रमा प्राविधिक धारको पढाइलाई अघि बढाइने बताइएको छ । प्राविधिक र ब्यवसायिक उच्च शिक्षालाई प्राथमिकता राखी बजेट व्यवस्था गरिएको छ ।