मध्यपुर थिमिको जिब्रो छेड्ने जात्राले निरन्तरता पाउँदे

0

मध्यपुर थिमिको जिब्रो छेड्ने जात्राले निरन्तरता पाउँदे


भक्तपुर । मध्यपुर थिमि बालकुमारीका ३५ वर्षीय विरेन्द्रभक्त श्रेष्ठले थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदै दोस्रो पटक जिब्रो छेड्ने हुनुभएको छ ।

२०६३ देखि रोकिएको जात्रा ११ वर्षपछि २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले नै जिब्रो छेडाएपछि जात्रा सम्पन्न भएको थियो । उनै वीरेन्द्रभक्तले यसपटक पुनः इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो छेडाउँदै हुनुहुन्छ । २०७५ मा भने बालकराम श्रेष्ठले जिब्रो छेडाएपछि कोभिड १९ का कारण रोकिएको थिमिको जिब्रो छेड्ने जात्रा यसपटक मात्रै हुन लागेको हो । भाद्र शुक्ल पूर्णिमाको दिनको जिब्रो छेड्ने जात्राका लागि सियो बनाउन मूल नकर्मी रामभक्त नकर्मीको घरमा सम्यबजीसहितको पूजा दिइएको छ । जिब्रो छेड्ने एक फिट लामो उक्त सियो तयार पारेपछि तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ ।

२५ वर्षदेखि रोकिएको थिमिको जिब्रो छेड्ने जात्रालाई मध्यपुर थिमि चोडेका ६६ वर्षीय कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा गरी १० वर्षमा तीनपटक जिब्रो छेडाएउनु भएको थियो । त्यसको ११ वर्षपछि विरेन्द्रभक्तले छेडाउनुभएको थियो ।

मध्यपुर थिमिकै बोडेमा बिस्का जात्राको अवसरमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । बोडेको जिब्रो छेड्ने जात्राले निरन्तरता पाइरहेको छ भने, थिमिको जिब्रो छेड्ने जात्राले निरन्तरता पाएको देखिँदैन । थिमिमा इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो छेड्ने जात्रा मनाउने चलन छ । जात्रा आर्थिक अभावले लोप भएको स्थानीय बासिन्दाको गुनासो छ ।

किम्बदन्ती अनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याकले थिमिका मानिसलाई धेरै दुःख दिने गर्थे । उक्त पिशाच पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको सम्झनामा जिब्रो छेड्ने परम्परा बसेको स्थानीय बताउँछन् ।

जात्राको ४ दिन अघिदेखि विभिन्न परिकार बनाएर नगरबासीलार्ई जिब्रो छेडाउने व्यक्ति स्वयंले भोज खुवाउनु पर्छ । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्नुपर्ने र ८ दिन अघिदेखि एकछाक मात्र खाएर बस्नुपर्ने, पशुपंक्षी छुन नहुने, जिब्रो छेडाउने एक दिन अघिदेखि श्रीमतीको अनुहार हेर्न नहुने उहाले बताउनुभयो । जिब्रो छेड्ने दिन थिमि लाय्कुका पःमाहरू गई हनुमानढोका लाय्कु (दरबार) बाट राजाको चिनो (खड्क) लिएर आएपछि मात्र जिब्रो छेडाउने चलन छ । तेलमा डुबाइराखेको करिब १ फिट लामो फलामको सियो देवगणको पूजा एवं प्रार्थना गरी भाद्र शुक्ल पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाएपछि मानन्धर थरका व्यक्तिहरूले बालेको याःमता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडेको व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्य् अर्थात् महाद्विप बोकेर नगरपरिक्रमा गर्ने चलन छ ।

थिमिमा जिब्रो छेडाउने व्यक्तिको परिक्रमा गर्ने स्थान निश्चित नभएको र जिब्रो छेडाएर नगर परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा सियो निकाल्ने र उक्त सियो पूजा गरी मन्दिरकै खम्बामा गाडिन्छ । जात्रा लोप भए पनि पहिले–पहिले जिब्रो छेडाएर निकालेको हजारौं सियो बालकुमारी मन्दिरका चारैतिरको खम्बाहरूमा देख्न सकिन्छ । एकै वर्ष २७ जनासम्मले जिब्रो छेडाएको इतिहास रहेको बालकुमारी मन्दिरमा ठोकिएको सियोबाट थाहा पाउन सकिन्छ । मध्यपुरथिमिमा सो दिन जिब्रो छेडाउन जोकसैले पनि पाउने र यतिनै व्यक्ति हुनुपर्ने भन्ने नभएकोले जोकसैले छेडाउन सक्दछ ।

प्वाल भएको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लगाउनु पर्दैन । जिब्रो छेड्ने व्यक्तिको घरमा आउने सबैलाई जिब्रो छेडाएको भोलिपल्ट पनि दिनभर भोज खुवाउनुपर्ने परम्परा छ । जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top