काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले भदौ ३१ गतेबाट ई–सीम वितरण थालेको छ । टेलिकमले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा ई–सीम वितरण गरेको हो । पहिलो दिन ५० वटा ई–सीम वितरण गरिएको टेलिकमका सहप्रवक्ता रन्जित लोहियाले जानकारी दिए । असोज २ गतेदेखि ‘फुलफेज’ रुपमा ई–सीम वितरण गरिने उनको भनाई छ । टेलिकमले आफ्ना पोष्टपेड र प्रिपेड दुबै प्रकारका ग्राहकलाई निःशुल्क रुपमा ई–सीम रिप्लेस गरिरहेको छ ।
टेलिकमले प्रिपेड नम्बरको नयाँ इ–सीम भने तत्काल वितरण गर्ने छैन । तर, पोष्टपेड मोबाइल नम्बरको लागि भने नयाँ ई–सीम पनि पाइनेछ । नयाँ ई–सीम लिनको लागि पोष्टपेड मोबाइलको ५ सय रुपैयाँ शुल्क तोकिएको छ । अहिलेसम्म संचालनमा रहेको फिजिकल सीमको शुल्क पनि ५ सय रुपैयाँ नै छ ।
‘पुराना ग्राहकले ई–सीम लिन चाहनु हुन्छ भने कुनै शुल्क लाग्दैन, नयाँ ग्राहकले इ–सीम लिने हो भने तत्कालको लागि प्रिपेड नम्बरको ई–सीम पाइँदैन, पोष्टपेडको हकमा अहिलेको जति नै अर्थात ५ सय रुपैयाँ नै लाग्छ,’ सहप्रवक्ता लोहियाले भने ।
कसरी लिने इ–सीम ?
सहप्रवक्ता लोहियाका अनुसार तपाईं टेलिकमको ग्राहक हो भने पहिला तपाईंको सेटमा ई–सीम चल्छ कि चल्दैन भन्ने एकिन गर्नुपर्छ । यसका लागि तपाईंले बोक्ने गरेको मोबाइलको ब्राण्ड र मोडल नम्बरमा ई–सीम चल्छ कि चल्दैन भनेर बुझ्नुपर्छ । ‘उदाहरणको लागि तपाईं सामसुङ ब्रान्डको कुनै मोडलको मोबाइल बोक्नुहुन्छ भने त्यो सेटमा ई–सीम चल्छ कि चल्दैन भनेर गुगल गरेर बुझ्नु सबैभन्दा उत्तम हुन्छ, आफ्नो सेटमा चल्छ भने मात्रै ई–सीम लिन खोज्ने हो,’ इञ्जिनियर लोहियाले भने ।
आफूले बोक्ने मोबाइलमा ई–सीम चल्छ भन्ने यकिन भएपछि आफ्नो परिचयपत्र बोकेर टेलिकमको सुन्धारा कार्यालयमा जानुपर्छ । सो कार्यालयमा टेलिकमले तपाईंलाई केवाईसी (नो योर कष्टुमर अर्थात ग्राहक परिचय) अपडेट गर्न लगाउँछ । टेलिकमले दिएको केवाईसी अपडेट गरेपछि तपाईंको मोबाइल सेटमा निःशुल्क रुपमा ई–सीम जडान हुन्छ । केवाईसी अपडेट गर्ने भनेको काठमाडौंको सुन्धारामा रहेको टेलिकम कार्यालय भर्न लगाएको केवाईसी फर्म भर्ने हो ।
मोबाइल सीम तपाईंको नाममा छैन भने अलि समस्या पर्छ । आफ्नो नामको सीम भयो भने त केवाईसी अपडेट गर्न खासै समस्या भएन । तर, अरुको नाममा रहेको सीम बोक्ने गर्नुभएको छ भने जसको नाममा रहेको सीम छ, सोही व्यक्तिलाई पनि टेलिकम कार्यालयमा गएर कबुलियतनामा फर्ममा हस्ताक्षर गराएर मात्रै टेलिकमले इ–सीम जडान गरिदिन्छ ।
के फाइदा हुन्छ इ–सीम लिँदा ?
टेलिकमका सहप्रवक्ता लोहियाका अनुसार ई–सीम लिनु भनेको प्रविधि रुपान्तरणलाई ग्रहण गर्नु हो । ‘कतिपय मोबाइल सेट निर्माताहरुले अब ई–सीम मात्रै सपोर्ट गर्ने सेट बनाउन लागेका छन्, इ–सीम भनेको नयाँ प्रविधि हो, तपाईंले ई–सीम बोक्ने भनेको नयाँ प्रविधि ग्रहण गर्ने हो,’ सहप्रवक्ता लोहियाले भने ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
