दसैंमा मासु ः मासु तथा पशुपन्छीको खरीद गर्दा यी कुराहरुमा ध्यान दिऊँ !

0

दसैंमा मासु ः मासु तथा पशुपन्छीको खरीद गर्दा यी कुराहरुमा ध्यान दिऊँ


काठमाडौं । मोहनी नखः, विजया दशमी तथा दशैं यी तीनै नेपालीहरुको फरक नामले चिनिने एकै प्रकारको चाड हो । यसमा खानाको रुपमा मुख्यतया मासुबाट बनिने परिकारहरुको बाहुल्यता रहन्छ । अर्थात दशैं भन्नु नै मासु खाने पर्वको रुपमा बुझिने गर्दछ । किनकि अन्य चाडपर्वमा भन्दा दसैंमा मासुको खपत दोब्बर हुन्छ । दसैं नजिकिएसँगै मासुका लागि जिउँदो पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु चिकित्सकहरुको भनाइ छ ।

रोग लागेका पशुपन्छीको नजिकै जाँदा विभिन्न किसिमका रोग सर्ने र त्यस्तै,राम्रोसँग नपाकेको मासु खाँदा पनि विभिन्न किसिमका रोग लाग्न सक्ने पशु बिशेषज्ञहरु बताउँछन् । जस्तो कि कुनै पशुमा टीबी लागेको छ भने त्यसको मासु सही तरिकाले नपकाइ खाँदा सो रोग मानिसमा समेत सर्न सक्छ । कुनै बाख्रामा तुहिने समस्या छ भने त्यसको मासु राम्रोसँग नपकाइ खाएमा मानिसमा पनि बाँझोपन, गर्भपतनको समस्या देखिन सक्ने पशु चिकित्सकहरु बताउँछन् ।  

त्यसो त दशैंको अवसरमा बजारमा मासुका लागि आउने खसीबोका, राँगोको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेको पशु सेवा विभागको दाबी छ । तथापि मासुका लागि किनिने पशुपक्षी स्वस्थ छन् कि छैनन् भनेर खरिदकर्ताले पनि ध्यान दिनुपर्ने हुन्छ । 

पशुपन्छी अस्वस्थ भएको कसरी थाहा पाउने ? 

अस्वस्थ पशुपंक्षी झोक्राउँछन् । जाडोमा झैँ लत्रक्क परेर बस्छन् । रौँ जिङरिङ परेर लाटो भएर बस्छन् । आँखाबाट आँसु बगिरहेको हुन्छ वा कचेरा निस्केको वा आँखा रातो भएको हुन्छ । पशुको शरीर छाम्दा तातो अर्थात् ज्वरो आएको हुन्छ  । खसीबोकाको नाक सुख्खा भएको हुन्छ ।

खसीबोकामा यस्ता समस्या देखिएमा यसलाई सामान्य रूपमा लिनु हुँदैन । राँगो, खसीबोका आदिमा पीपीआर रोग लाग्नु भनेको पशुहरुमा हैजा लाग्नु सरह हो । बाख्रामा खोरेत, पीपीआर भएको छ भने नाकबाट सिँगान आउने, आँखाबाट आँसु धेरै आउने र छेर्ने समस्या हुन्छ । कुखुरा, हाँस भए कुक्रुक्क पर्ने, डल्लो परेर बस्ने, भुत्ला ठड्याउने, एकोहोरो पातलो दिसा भएमा बिरामी भनेर चिन्नुपर्छ ।

पशुपन्छी स्वस्थ भएको कसरी थाहा पाउने ? 

स्वास्थ्य परीक्षण गरिएका पशु मात्रै खरिद गर्नुपर्छ । यदि खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ भने स्वस्थ, रातो रङ लगाएको भए अस्वस्थ भनेर थाहा पाउनुपर्छ । नाकमा चिसो पसिना आइरहेको खसीबोकालाई सामान्य नै मान्नुपर्छ । खसीबोकालाई झट्ट हेर्दा चनाखोपन देखाए नदेखाएको ख्याल गर्नुपर्छ । जस्तै खसीबोकाको अगाडि जाँदा चनाखो हुन्छ । आँखा टाठो बनाउँछ, कान ठाडो पार्छ र पुच्छर हल्लाउँछ । यस्तो खसीबोका स्वस्थ हुन्छ ।

मासु काट्दा ध्यान दिनुपर्ने

दसैंमा मासु ः मासु तथा पशुपन्छीको खरीद गर्दा यी कुराहरुमा ध्यान दिऊँ !

पोषणविद्का अनुसार मासुका लागि खरिद गरिने पशुमा मात्रै ध्यान दिएर पुग्दैन, खरिद गरिएको पशु काट्ने बेलामा पनि धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । खसीबोका काट्नुभन्दा २४ घण्टा पहिला दानापानी घाँस नदिएर प्रशस्त मात्रामा पानीमात्रै खुवाएर राख्दा पेटमा भएका किटाणु, विकारहरू केही मात्रामा बग्न सक्ने पशु चिकित्सकको सुझाव छ ।

परीक्षण गरिएका पशुमा खासै रोग देखिँदैन । यद्यपि खसीबोका, राँगो काट्ने वित्तिकै शरीरमा गिर्खागिर्खी, पानीको फोका बढी देखिएको, पेटभित्र कुहिएको भाग भएको, गाँठागुँठी आदि भेटियो भने त्यो भागलाई हटाउनु उपयुक्त हुन्छ । किनकि विकार मिसिएको खण्डमा मासु खाइसकेपछि पेट दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने आदि समस्या हुन सक्छ ।

मासु तयार गर्दा यी कुरामा ध्यान दिन आवश्यक छ ।

  • पशुपन्छी काट्दा सफासुग्घर ठाउँमा राखेर काट्नुपर्छ ।
  • सम्भव भएसम्म नजिकैको बधशालामै काट्नुपर्छ ।
  • यदि घरैमा खसीबोका काट्दै हुनुहुन्छ भने खुट्टाले टेकिने ठाउँमा मासु राख्नु हुँदैन ।
  • जुन ठाउँमा मासु तयार गर्ने हो, त्यस ठाउँमा दुई तीन पटक साबुन पानीले राम्ररी सफा गरेर मात्र काट्नुपर्छ ।
  • काटिसकेपछि आन्द्राभुँडी, छाला, टाउको र मासु छुट्टाछुट्टै भाँडामा राख्नुपर्छ ।
  • काट्ने बित्तिकै मासु प्लाष्टिकले मोडेर फ्रिजमा राख्दा ४८ घण्टासम्म खान मिल्छ ।
  • छिट्टै बिग्रिने आन्द्राभुँडी, टाउको, खुट्टा तत्काल खाँदा उपयुक्त हुन्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top